गृहपृष्ठ धनुषाका तीनवटा सार्वजनिक पोखरीको लाखौँ आम्दानी वडाध्यक्षको खल्तीमा

धनुषाका तीनवटा सार्वजनिक पोखरीको लाखौँ आम्दानी वडाध्यक्षको खल्तीमा

धनुषाको हंसपुर नगरपालिका १ का अध्यक्ष कामेश्वर कापरले तीनवटा सार्वजनिक पोखरीको ठेक्काबापतको रकम तीन वर्षदेखि कुम्ल्याउँदै आएको पाइएको छ । २०७५ भदौमा हंसपुर नगरपालिकाले सार्वजनिक पोखरी ठेक्का लगाउन गरेको परिपत्रअनुसार वडा नम्बर १ अन्तर्गतका तीन पोखरीको ठेक्का लगाउन टेन्डर गरिएको छ ।

मदन झा सञ्चालक रहेको मिथिला कृषि फर्मलाई २०७५ असोज २५ गते टेन्डरमार्फत पोखरी ठेक्कामा दिइएको छ । मिथिला कृषि फर्मलाई जानकी पोखरी प्रतिवर्ष ५० हजार, भगवानपट्टि ५ लाख ५० हजार र गुलरिया पोखरी ५ लाख रुपैयाँ वार्षिक तिर्ने गरी सम्झौता भएको छ । तर, वडाध्यक्ष कामेश्वर कापरले हालसम्म पोखरीको आम्दानी नगरपालिका वा वडा कार्यालयमा नबुझाएको भन्दै दीपेन्द्रकुमार कापर र बलराम कापरले नगरपालिकाको न्यायिक समितिमा संयुक्त उजुरी गराएका छन् ।

नगरपालिकाले गराएको लेखा परीक्षण प्रतिवेदनमा पोखरीको टेन्डर लगाएको खर्च देखाइएको भए पनि आम्दानी भने नदेखाएको दीपेन्द्रले बताए । अहिलेसम्म सार्वजनिक पोखरीबाट वडाध्यक्ष कापरले ३३ लाख रुपैयाँ कुम्ल्याएको उनको उजुरीमा उल्लेख छ ।

वडाध्यक्ष कापरले भने रामजानकी पोखरीमात्र ३ लाख वार्षिक आम्दानी हुने गरी ठेक्कामा लगाएको बताएका छन् । उनले पोखरीको ठेक्काबाट उठेको रकम आफ्नो निजी बैंक खातामा राखेको बताए । हंसपुर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक रेणुदेवी झाले उजुरीबारे छानबिन गरी सार्वजनिक पोखरीको ठेक्काबापतको रकम नगरपालिकामा ल्याउने बताएकी छन् ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु