गृहपृष्ठ कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई कांग्रेसको आग्रह
कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।
बिहीबार एक विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमितको नि:शुल्क उपचार गर्न माग गरेका छन् । विज्ञप्तिमा भनेका छन्, ‘कोभिड–१९ को संक्रमणका कारण धेरै नेपाली दाजुभाइ–दिदिबहिनीको मृत्यु भएको छ । म ज्यान गुमाउनु हुने सबैको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । सक्रिय संक्रमितको सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।’
उनले नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको बताए । ‘प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनुपर्ने सरकारले झन् पीडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस निर्णयले सरकार जनताका प्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्यबिमुख छ भन्ने देखिएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवावाट बञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो । सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्छ । सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्थाविपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’
उनले कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैरजिम्मेवार रहेको बताए । विज्ञप्तिमा भनेका छन्, ‘समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन् । हामीले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता गरेन । महामारीको भयावह अवस्था सिर्जना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ ।’
देशमा कालाबजारी, महंगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको उनको आरोप छ । ‘आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता छैन । अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ । तर, नागरिकको स्वास्थ्यबारे सरकार असंवेदनशील बनेको छ ।’ विज्ञप्तिमा भनेका छन् ।
उनका अनुसार सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर्नुपर्छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड—१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचार सम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु । साथै यस विषम परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थतर्फ सम्वेदनशील भई जनताको हितमा काम गर्न आग्रह गर्दछु ।’
प्रकाशित समय १६:१९ बजे

















