गृहपृष्ठ राज्यको परम्परागत नियम र दृष्टिकोणले व्यवसायी निरुत्साहित : चन्द्र ढकाल

राज्यको परम्परागत नियम र दृष्टिकोणले व्यवसायी निरुत्साहित : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायी निरुत्साहित भएको बताएका छन् । पोखरामा सोमबारदेखि सुरु भएको आइएमई लिटरेचर फेस्टिभलमा ‘कोरोनाकालीन उद्योग वाणिज्य’ विषयक अन्तर्क्रियामा वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै सम्भावना भए पनि निजी क्षेत्रको लगानी आउन सक्दैन । राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीलाई निरुत्साहित गरेको छ । सबै व्यवसायीलाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन ।’

जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने उनले बताए । मलेसियाले छोटै समयमा गरेको विकासका नमुनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा नलिएसम्म निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने तर्क गरे ।

आइएमई ग्रुपका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘कोभिड–१९ को सबैभन्दा ठूलो असर व्यवसाय क्षेत्रमा परेको छ,’ उनले भने, ‘कोभिड–१९ ले प्रभाव पारेको अर्थतन्त्रलाई लयमा ल्याउन राज्यले विशेष कार्यक्रम ल्याउन जरुरी छ, सरकारले ल्याएको राहत अपुरो छ, यो राहत सम्बन्धित व्यवसायीले पाउन सकेकासमेत छैनन् ।’

मौद्रिक नीति तथा बजेट आउँदा कोभिडको अहिलेको अवस्थालाई परिकल्पना नगरिएको उनको टिप्पणी छ । ‘अहिलेका समस्या सम्बोधन गर्न बजेट तथा मौद्रिक नीतिको पुनरावलोकन गर्नुपर्छ,’ ढकालले भने, ‘मुलुकलाई आर्थिक विकास तथा समृद्धिको बाटोमा अगाडि बढाउन सर्वप्रथम कोभिडबाट प्रभावित व्यवसायलाई पुरानै लयमा ल्याउन जरुरी छ, राज्यले यसमा विशेष ध्यान दिनुपर्छ ।’

कोभिड–१९ को महामारीले व्यवसायका नयाँ‑नयाँ अवसर पनि सिर्जना गरेको र यसले डिजिटल इकोनोमीको अवसर पनि सिर्जना गरेको उनले बताए ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु