गृहपृष्ठ कामचलाउ ऊर्जामन्त्री भन्छन्‑ तार भूमिगत गर्दा कति साथी मर्ने हुन्
कामचलाउ ऊर्जामन्त्री भन्छन्‑ तार भूमिगत गर्दा कति साथी मर्ने हुन्
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विद्युतको तार भूमिगत गर्दा खतरनाक भएकाले धेरै मानिसको ज्यान जानसक्ने टिप्पणी गरेका छन् । विद्युत क्षेत्रका प्राविधिकसँग बुझ्दै नबुझी ओली सरकारका मन्त्री रायमाझीले मंगलबार गृहनगर सन्धिखर्क पुगेर भने, ‘अहिले कुलमानजीहरूले अन्डरग्राउन्ड बिजुली बनाउँदै छन्, कति साथीहरू मर्ने हुन्, त्यहाँ स्क्याभेटरले खन्न थाल्यो भने स्क्याभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइरहेको छ ।’
नेपाल विद्युत प्राधिकरणका पूर्व कर्यकारी निर्देशक कुलमान घिसिङलाई कमजोर बनाउन केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरू यतिखेर लागिपरेका छन् । यसैको सिलसिला स्वरुप मन्त्री रायमाझीले पछिल्लो कुतर्क गरेका हुन् ।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि ‘लोडसेडिङ हटाउने योजना केपी शर्मा ओलीको हो’ भन्दै भ्रम फैलाएका थिए । जबकि, तत्कालीन कार्यकारी निर्देशक घिसिङले ‘पावर म्यानेजमेन्ट’ गरेर लोडसेडिङ हटाएका हुन् । कुलमानलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार कार्यकारी निर्देशक बनाइएको थियो ।
मन्त्री रायमाझीले साथीहरूले तार भूमिगत गरेर १२ अर्ब रुपैयाँ नोक्सानी गरेकोसमेत उनले भन्न भ्याएका छन् । यसअघि रायमाझीले ‘लोडसेडिङ हटाउने मास्टर प्लान पनि मेरै हो र कुलमानलाई प्राधिकरणमा ल्याउने पनि मै हुँ’ भन्दै झुट बाँडेका थिए ।
प्रकाशित समय १४:५७ बजे

















