गृहपृष्ठ जनतामा जाने निर्णयलाई केही शक्तिहरुले प्रतिगमनका रुपमा हेरे : मन्त्री थापा

जनतामा जाने निर्णयलाई केही शक्तिहरुले प्रतिगमनका रुपमा हेरे : मन्त्री थापा

खानेपानीमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले प्रचण्ड-नेपाल पक्षलाई एकतामा आउन आग्रह गरेका छन् । पार्टीको कामले जाजरकोट जाने क्रममा सुर्खेत आइपुगेका मन्त्री थापाले अझै पनि पार्टी एकतावद्ध भएर अगाडि बढ्दा राम्रो हुने बताए ।

‘हाम्रो पार्टी अहिले विधिवत रुपमा फुटिसकेको छैन । अझै पनि एकतामा आउन प्रचण्ड-नेपाल पक्षलाई आग्रह गर्न चाहन्छु,’ उनले भने । देशलाई समृद्धितर्फ लैजानको लागि जनताको माझमा जानुको विकल्प नरहेको मन्त्री थापाको भनाइ थियो । आगामी मध्यावधि निर्वाचनको मिति घोषणा भएको र त्यसको आधारमा देश नयाँ तरिकाले स्थायित्वतर्फ जाने उनले दाबी गरे । जनतामा जाने निर्णयलाई केही शक्तिहरुले प्रतिगमनका रुपमा हेरे पनि देशमा संकट परेको बेला जनताको माझमा जानु उत्तम भएको उनले बताए ।

कर्णाली प्रदेशमा मन्त्रिमण्डल फेरिने विषयमा बोल्दै उनले अहिले नै पार्टी आधिकारिक रुपमा नफुटेकाले जुट्नसक्ने सम्भावना भएको बताए । चुनावमा जानु अग्रगामी कदम भएको उनले तर्क गरे । कर्णाली प्रदेशमा सबै क्षमतावान् व्यक्ति भएकाले नेतृत्वसमेत कर्णालीकै व्यक्तिले पाउने उनले बताए ।

आफूले इन्चार्जको भूमिकाभन्दा पनि संयोजकको भूमिका पाएको प्रष्ट पारे । आगामी निर्वाचनसम्म दुवै पक्षले आफ्ना कमीकमजोरी सुधार गरी एकतामा जानसके देशलाई फाइदा हुने उनले सुनाए । प्रदेशसभा विघटन र सरकार परिवर्तनको विषयमा अहिले नै केही सम्भावना नरहेको उनले बताए । कर्णालीलाई कुनै पनि हालतमा नेतृत्वविहस्न नगराउने उनले जानकारी दिए ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु