गृहपृष्ठ नेपाली कृषिउपजलाई सीधा बजार पहुँच दिन कतारसँग महासंघको माग
नेपाली कृषिउपजलाई सीधा बजार पहुँच दिन कतारसँग महासंघको माग
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषिउपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेरथोर निर्यात हुँदै आइरहेको कृषिउपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् ।
राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी, राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बाली भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासंघको भनाइ छ ।
अध्यक्ष राणाले नेपालले श्रमिक पठाउने देशको रुपमा बनेको आफ्नो परिचय बदल्नुपर्ने बताइन् । ‘कतारको अहिले नेपालमा म्यानपावरको व्यवसायमात्र छ, जसलाई हामीले फेर्न खोजिराखेका छौं । नेपालमा अहिले सरकारसमेत स्थिर रहेको र लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिरहेका छौं,’ उनले भनिन् ।
प्रकाशित समय १२:४९ बजे

















