गृहपृष्ठ लघुवित्तलाई ग्रामीण क्षेत्रमा जान प्रधानमन्त्रीको आग्रह
लघुवित्तलाई ग्रामीण क्षेत्रमा जान प्रधानमन्त्रीको आग्रह
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र गरिबी निवारण अभियानमा सहभागी हुन लघुवित्त संस्थालाई अपिल गरेका छन् । राजधानीमा शनिबारदेखि सुरु भएको दोस्रो लघुवित्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सहरी र चक्रपथभित्र भन्दा पनि ग्रामीण क्षेत्रमा लघुवित्त संस्था जानुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले लघुवित्त न्यून आय भएका र गरिब जनताको हितका लागि स्थापित संस्था भएकाले महँगो ब्याजमा कर्जा दिने लघुवित्त हुनै नसक्ने स्पष्ट पारे । ‘सञ्चालकको रुचि होइन, लक्षित समूहको हित हेर्नुपर्छ, उनीहरुलाई सेवा दिनुपर्छ,’ उनले भने ।
सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघुवित्तको ठूलो योगदान हुने भन्दै उनले सानो लगानीबाट ठूलो उद्यम भएका उदाहरण थुप्रै रहेको बताए । प्रधानमन्त्री ओलीले सुगमदेखि दुर्गमसम्मको सहभागिता रहेकाले लघुवित्तका सदस्य समृद्ध र सुखी भए गरिबीको समस्या आधा हल हुने विश्वास व्यक्त गरे । लघुवित्तको विकासमा बाधा पर्ने कुनै कानुन भए सरकार संशोधन गर्न तयार रहेको उनले बताए ।
‘कुन कारणले कसरी अप्ठ्यारो परेको छ, सम्मेलनबाट सुझाव दिनुहोस्,’ उनले भने, ‘सरकार लघुवित्तलाई सहयोग गर्न बसेको छ ।’ प्रधानमन्त्री ओलीले विभिन्न षड्यन्त्रबाट आएका शासकबाट जनता लामो समय शासित हुनुपरेकाले विकास हुन नसकेको उल्लेख गर्दै अहिले मुलुकमा स्पष्ट दृष्टिकोण र जनतालार्इ माया गर्ने सरकार रहेको जिकिर गरे ।
ठूला अन्तर्राष्ट्रिय सम्मेलन भएको र दुवै छिमेकीसँगको सम्बन्ध सन्तुलित भएको उल्लेख गर्दै उनले मुलुक तीव्र विकासको गतिमा अघि बढेको बताए । प्रधानमन्त्री ओलीले विगतदेखि नै पूरा गर्नसक्ने कुरामात्र आफूले बोल्ने गरेको उल्लेख गर्दै आफूले बोलेका कुरा समय क्रममा पूरा हुने विश्वास व्यक्त गरे । (रासस)
प्रकाशित समय २०:१७ बजे

















