गृहपृष्ठ वडास्तरमै युवा स्वरोजगार कार्यक्रम
वडास्तरमै युवा स्वरोजगार कार्यक्रम
गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेसा व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्ययक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
वडा कार्यालयले वडाका विभिन्न सात स्थानको पहिचान गरी चालू आर्थिक वर्षका लागि कार्यक्रम सुरु गरेको उनले बताए । ‘कार्यक्रममा सहभागी हुन चाहनेका लागि निवदेन आह्वान गरिसकिएको छ,’ वडाध्यक्ष रेग्मीले भने, ‘समूहमा आउनेलाई प्राथमिकता दिएर छनोट गर्ने तयारी गरेका छौं ।’
स्वरोजगार कार्यक्रममा सहभागी हुने व्यक्ति वा समूहले उत्पादनमूलक पेसा व्यवसाय गर्नुपर्ने र कम्तीमा पाँच वर्ष सोही पेसालाई निरन्तरता दिनेलाई मात्र कार्यक्रममा सहभागी गराइने उनले बताए । ‘पुराना पेसा व्यवसाय आरन, सूचीकार, कुखुरापालन, कृषि व्यवसाय गर्नेलाई पहिलो प्राथमिकता दिइनेछ,’ वडाध्यक्ष रेग्मीले भने, ‘धेरै निवदेन परेकाले प्राथमिकताका आधारमा छनोट गरिनेछ ।’
कार्यक्रमअन्तर्गत वडाले व्यक्तिलाई कम्तीमा ५० हजार र समूहलाई दुई लाखसम्मको अनुदान सहयोग गर्ने उनले बताए । अधिकांश युवा सामान्य रोजगारीका लागि विदेसिने गरेकाले युवालाई स्वदेशमै बसेर पनि काम गर्नसके आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिन कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रेग्मीको भनाइ छ ।
तरकारीखेतीको राम्रो सम्भावना बोकेको भम्लिचोकमा व्यावसायिक खेती गर्न सके यही राम्रो आम्दानी गर्न सकिने उनले बताए । ‘अहिले युवा महिनामा २०/३० हजार कमाउन विदेश पुग्छन्, यहीँ तरकारीखेती गरेर मासिक ५० हजार कमाउने पनि छन्,’ वडाध्यक्ष रेग्मीले भने । युवालाई गाउँमै राखेर आत्मनिर्भर बनाउन सके गाउँको मुहार फेरिन समय नलाग्ने उनको भनाइ छ । (रासस)
प्रकाशित समय १२:०३ बजे

















