गृहपृष्ठ जुम्लामा पेट्रोलियम पदार्थको पहिलोपटक मूल्य निर्धारण
जुम्लामा पेट्रोलियम पदार्थको पहिलोपटक मूल्य निर्धारण

जुम्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको करिब डेढ दशकपछि पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको जथाभावी बिक्री तथा मनपरी मूल्य नियन्त्रणका लागि मूल्य तोकिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
मूल्य समायोजनपछि पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेलको ११५ रूपैयाँ कायम गरिएको छ । यसअघि, पेट्रोल प्रतिलिटर १५० र डिजेल १३० रूपैयाँसम्ममा किनबेच भइरहेको थियो । मूल्य निर्धारणसँगै पेट्रोलियम पदार्थको जथाभावी कारोबार नियन्त्रणमा आउने सहायक प्रजिअ श्रेष्ठले बताए ।
कर्णाली राजमार्गमा २०६२ सालदेखि नै सवारी साधन गुड्न थाले पनि हालसम्म मनपरी ढंगले पेट्रोलियम पदार्थ किनबेच भइरहेको थियो । पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारीबारे कसैको ध्यान पुग्न नसक्दा सवारी धनी मर्कामा परेका थिए ।
पेट्रोलियम पदार्थको मूल्य तोकिएभन्दा बढी लिए कारबाही हुने जुम्ला प्रशासनले जनाएको छ ।
प्रकाशित समय १६:४२ बजे