गृहपृष्ठ साताको नेप्से : डेढ अर्बको कारोबार, ३६ अंकको गिरावट
साताको नेप्से : डेढ अर्बको कारोबार, ३६ अंकको गिरावट
सेयर बजारमा साताभरमा डेढ अर्बको मात्र कारोबार भएको छ । अनलाइन ट्रेडिङमा लगानीकर्ता अभ्यस्त नइसकेको र केहीले मात्र युजरनेम र पासवर्ड लिएकाले कारोबार सुस्ताको हो ।
साताभरमा एक अर्ब ६१ करोड ७७ लाख रूपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकममा मात्र गिरावट आएन, नेप्से परिसूचकसमेत ओरालो लागेको छ ।
साताको पहिलो दिन आइतबार १२१५.१६ अंकबाट कारोबार सुरु भएको बजार लगातार घटेर अन्तिम दिन बिहीबार ११७८.८७ अंकमा झरेको छ । साताभरमा बजार ३६.२९ अंकले ओरालो लागेको हो । गत साता बजार ५० अंक उक्लिएको थियो । साताभरमा १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता सेयर किनबेच भएको छ ।
आइतबार १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता सेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा किनबेच भयो । यस्तै, सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता सेयर ४० करोड तीन लाख १२ हजार ३८५ रूपैयाँमा खरिद बिक्री भयो भने मंगलबार १५६ कम्पनीको ६ लाख ८९ हजार ७२० कित्ता सेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ रूपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार पनि बजारको अवस्था उस्तै रह्यो । बुधबार ५.४२ अंकले घटेर बजार ११८०.४३ अंकमा झर्यो भने १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता सेयर २५ करोड ७६ लाख सात हजार १६६ रूपैयाँमा किनबेच भयो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.५६ अंकले घट्दा २७ करोड ६९ लाख ५६ लाख रूपैयाँको कारोबार भयो ।
अधिकांश लगानीकर्ता अनलाइन ट्रेडिङमा नजोडिएकाले बजार सुस्ताएको विश्लेषकहरू बताउँछन् । तर, आगामी सातादेखि बजारमा उत्साह थपिने उनीहरूको अनुमान छ । साताको पहिलो दिन बढी घटेको नेप्से बाँकी दिनहरू सामान्य घटेको थियो ।
प्रकाशित समय १६:०७ बजे

















