गृहपृष्ठ पाँच महिनामा साढे ८५ करोडको माछामासु आयात
पाँच महिनामा साढे ८५ करोडको माछामासु आयात
चालू आर्थिक वर्षको पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ किलो मासु तथा माछा नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार चालू आवको आयात विवरणमा पाँच महिनामा ८५ करोड ५६ लाख मूल्यबराबरको मासु, माछा, घुँगीलगायत आयात भएको हो ।
नेपालमा पर्याप्त सम्भावना भएका मासुजन्य कृषि उपज पनि उत्पादन गर्न नसक्दा बर्सेनि करोडौं बाहिरिन गरेको छ । बजार व्यवस्थापन तथा भण्डारण समस्यालगायतका कारण कृषिप्रति युवा आकर्षण घटेपछि मुलुकको उत्पादन घटेको छ ।
नेपाल माछा तथा मासु उत्पादनका लागि उर्वर भूमि हो । तर, उत्पादनका लागि सरकारी नीति तथा बढ्दो युवा पलायनको प्रत्यक्ष प्रभाव उत्पादनमा परिरहेको छ । जसका कारण नेपालमै उत्पादन हुनसक्ने खाद्यवस्तु र कृषि उपजका लागि पनि बर्सेनि अर्बौं विदेशिने गरेको हो । फतलः नेपालीले विदेशमा कमाएको पैसा खाद्यान्न आयातमा उतै जाने गरेको छ ।
नेपालमा भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बंगलादेश, सिङ्गापुर र जापान गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बंगुरर, भेडा, कुखुरा, माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात हुने गर्छ ।
आयात २३ प्रतिशत वृद्धि
भन्सार विभागका अनुसार नेपालमा निर्यातको तुलनामा आयात २३ प्रतिशतले बढेको छ । चालू आवको ५ महिनामा ११.२ प्रतिशत निर्यात वृद्धि हुँदा आयात ३४.०२ दुई प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ७ अर्बको वस्तु तथा सेवा आयात भएको छ भने ३७ अर्ब ५० करोडको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय ०८:०० बजे

















