गृहपृष्ठ नेप्से २२ अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार
नेप्से २२ अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार
लगानीकर्ताको रोजाइमा बिमा समूह, ७ कम्पनीको सेयर १० प्रतिशत बढ्यो
सेयर बजार परिसूचक नेप्से आइतबार २२ अंकले बढेको छ । बैंक र वित्त समूह ओरालो लागेको बजारमा अन्य सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २२.३९ अंकले बढेर १३१४.५१ अंकमा उक्लिएको छ ।
बिमा समूहमा आइतबार उछाल आएको छ । जीवन बिमा समूह ९.९४ प्रतिशतले बढ्दा निर्जीवन बिमा समूह ८.२२ प्रतिशतले उकालो लागेको हो । त्यस्तै, लघुवित्त समूह, ६.१२, जलविद्युत ५.५४ र होटल समूह ४.८७ प्रतिशतले बढेका छन् ।
आइतबार ७ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, आरएमडीसी लघुवित्त, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोस लघुवित्त, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त र राष्ट्रिय बिमा कम्पनीको सेयर १० प्रतिशत बढेको हो ।
बिमा समितिले बिमा कम्पनीहरूलाई असारभित्रै तोकिएको चुक्तापुँजी पुर्याउन ताकेता गरेपछि बिमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने बैंक धेरै छन् । सर्वाधिक कारोबार हुने १० कम्पनीमा सातवटा बैंक छन् भने एउटा लघुवित्त र दुईवटा इन्स्योरेन्स कम्पनी छन् ।
वैशाख लागेपछि रौनक फर्किएको बजारमा आइतबार डेढ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार १७६ कम्पनीको १ अर्ब ६७ करोड ५९ लाख रूपैयाँबराबरको ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच भएको छ । यो रकम गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको भन्दा ३२ करोडभन्दा बढी हो । बिहीबार एक अर्ब ३५ करोडबराबरको सेयर किनबेच भएको थियो ।
प्रकाशित समय १५:२५ बजे

















