गृहपृष्ठ बजेटपछि ४४ अंकले घट्यो सेयर बजार
बजेटपछि ४४ अंकले घट्यो सेयर बजार
सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन । जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक ४४.३२ अंकले ओरालो लागेको छ ।
बजेटपछि बजार नौ दिन खुला रह्यो । बजेटले केही नीतिगत व्यवस्था गरे पनि बजार भने निरन्तर ओरालो लागेको छ । यो साता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ । केही कम्पनीको सेयर भने निरन्तर वृद्धि भइरहेको छ ।
गत साताको बिहीबार १२८४.५९ अंकमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन बिहीबार १२६९.५५ अंकमा झरेको छ । गत बिहीबारदेखि यो साताको बिहिबारसम्म बजार १५.०४ अंकले घटेको हो ।
आइतबार काठमाडौँ उपत्यकमा सार्वजनिक बिदा परेका कारण सेयर बजार बन्द रह्यो । सोमबार खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आए पनि बाँकी सूचक ओरालो लागेका थिए । १७३ वटा कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता सेयर ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा कारोबार भयो ।
यस्तै, मंगलबार नेप्से परिसूचक ०.१७ अंकले बढेर एक हजार २७५.९८ अंकमा थामियो । मंगलबार १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता सेयर ४८ करोड आठ लाख ७६ हजार ९८६ मा किनबेच भयो ।
बुधबार पुनः नेप्से ३.५ अंकले घटेर १२७२.४८ अंकमा पुग्यो । १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८८१ मा कारोबार भयो । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्रै सेयर बढ्यो ।
बिहिबार पनि बजारले ओरालोको यात्रा तय ग-यो । बिहीबार नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ अंकमा झ-यो । १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरिद–बिक्री भयो ।
यो साता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ६ लाख १८ हजार ६१० कित्ता साधारण सेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता सेयर बोनस र युनियन हाइड्रो पावरको ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ ।
प्रकाशित समय १६:५१ बजे

















