गृहपृष्ठ सेयर बजार दुई दिन खुलेर बन्द
सेयर बजार दुई दिन खुलेर बन्द
कोरोनाभाइरस (कोभिड १९) संक्रमण समुदायबाट समुदायमा फैलिएसँगै सरकारले लकडाउनमा कडाइ गरेपछि सेयर बजार आज बिहीबारदेखि बन्द भएको छ । लकडाउनका कारण ५० दिनपछि खुलेको बजार मंगलबार र बुधबार खुलेर बन्द भएको हो ।
लकडाउनमा कडाइ गर्ने सरकारको निर्णयसँगै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बिहीबार बिहान नै पत्र पठाएर कारोबार स्थगत गर्न निर्देशन दिएको हो । बोर्डको पत्र पाएलगत्तै सञ्चालक समिति बैठक बसी नेप्सेले कारोबार बन्द गरेको उप‑प्रबन्धक प्रविन पन्दाकले जानकारी दिए । बोर्डले अर्को व्यवस्था नभएसम्मका लागि कारोबार स्थगन गर्न भने पनि नेप्सेले भने लकडाउन अवधिभर जेठ ५ गतेसम्मका लागि बजार बन्द भएको सूचना जारी गरेको छ ।
लकडाउनका कारण मंगलबार ५० दिनपछि खुलेको सेयर बजारमा एक घण्टा २६ मिनेटमा र बुधबार ३९ मिनेटमा नेगेटिभ सर्किट लागेको थियो । धितोपत्र बजार २ प्रतिशत वृद्धि वा ह्रास भएमा सर्किट लगाउने व्यवस्थासहित नियमित सञ्चालनमा ल्याइएकोमा सोही व्यवस्थाअनुसार दुवै दिनको कारोबार स्थगन गरिएको थियो । दुवै दिनमा कुनै पनि लगानीकर्ताले एक रुपैयाँ पनि कमाउन सकेनन् ।
मंगलबार १२५१.४५ कारोबार सुरू भएको बजार पहिलो दिन २५.३ र बुधबार २४.५८ अंकले घटेर १२०१.५७ अंकमा झरेको छ । नेप्सेमा मंगलबार १० करोड ४३ लाख रूपैयाँ र बुधबार ३६ लाख १३ हजार ५२३ रूपैयाँको सेयर किनबेच भयो ।
प्रकाशित समय १२:१४ बजे

















