गृहपृष्ठ धनी कसरी बन्न सकिन्छ ?

धनी कसरी बन्न सकिन्छ ?

धनी सबैलाई बन्न मन लाग्छ । तर, चाहना राखेर मात्र धनी हुन सकिन्न । धेरै मानिस धनी हुने रहरसँगै बुढ्यौलीमा पुग्छन् र मृत्युवरण गर्छन् । किन त ! किनकि, मन लागेर मात्र धनी हुन सकिन्न अर्थात् धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्र धनी हुन्छ न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्र हुन्छ । खर्च कटौती गरी सञ्चित गर्नु नै बचत हो । वर्तमानको आम्दानी वा खर्च कम गरी भविष्यका लागि केही रकम छुट्टायाएर राख्नु बचत हो । बचत तीन प्रकारले गर्न सकिन्छ :

पहिलो : आम्दानीको केही भाग छुट्टयाएर

दोस्रो : खर्च कटौती गरेर

तेस्रो : दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा केही बचाएर ।

Y = C + S  (S = Saving)

S = Y – C   (Y = Income, C = Consumption)

अर्थशास्त्री स्टुअर्ट रदरफोडले भनेका छन्- बचत धनी मानिसले मात्र गर्ने कुरा होइन, बरु यो गरिबहरुको साथी हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । दुई‑चार सय रूपैयाँ बचत गरेर के नै हुन्छ र भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।

आजको स-सानो बचतले भोलि तपाईंलाई ठूल्ठूला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाईबाट बचत गर्नहोस् । तपाईं जति कमाउनुहुन्छ, पहिला त्यसको हिसाब गर्नुस् र आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्न सकिन्छ, त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँचाहिँ बचाउँछु भनेर तपाईं लाग्नुभयो भने मात्रै फजुल खर्च कटौती गर्न सक्नुहुन्छ । हाम्रो खल्तीमा भएको पैसा यसै सकिन्छ । मैले दसैंमा दक्षिणाबापत प्राप्त हुने पैसा र बुबाआमा अनि दादाले खाज खान दिनुभएको पैसाबाट केही बचत गरेकी छु ।

सानै उमेरदेखि थोरै बचत गर्न थालियो भने ठूलो हुँदासम्म धेरै रकम जम्मा भइसकेको हुन्छ । भविष्यमा आइपर्ने पैसाको खाँचोलाई सजिलै पार लगाउन सकिन्छ । धनी बन्न बचत गर्नुको विकल्प नरहेको बैंकर गोविन्द गुरुङ बताउँछन् । ‘सानै उमेरदेखि बचत गर्दा आवश्यक परेका बेला यो ठूलो सहयोग हुनसक्छ,’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ भन्छन्, ‘बचत गर्न सके आम्दानी कम भएको समयमा खर्च धान्न र शिक्षा, स्वास्थ्य, उपचार र व्यवसाय स‍‍ञ्चालन गर्न ठुलो सहयोग पुग्छ ।’

बाहिर खाजा खाने बानी छ भने हटाउनुहोस् । यसरी पनि बचत हुन्छ र स्वास्थ्यको लागि राम्रो हुन्छ । हाम्रो स्वास्थ्यमा पनि ठूलो धनराशि खर्च भइरहेको हुन्छ । हरेक सामान किन्दा किफायती बन्न प्रयास गर्नुपर्छ । हामी २० रुपैयाँको कलम किन्दै आएका छौं भने १० रुपैयाँको किन्ने गरौँ । यसबाट १० रुपैयाँ बचत हुन्छ । बैंकर गुरुङ भन्छन्, ‘यसरी बचत गर्दै जाने हो भने धेरै रकम जम्मा हुन्छ र समस्या परेका बेला खर्च गर्न पाइन्छ ।’

बचत एक दिन एक महिना वा एक वर्ष मात्रै गरेर हुँदैन । सधैंका लागि र नियमित बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्न हो भने एक वर्षमा करिब ३ हजार ६५० रुपैयाँ हुन्छ । तपाईं चुरोट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुस् र त्यो पैसा बचत गर्नुहोस् ।

सानैदेखि पैसाको महत्व बुझी बचत गर्न बानी बसाउन बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा खाता खोल्नुहोस् । यी संस्थाले ब्याज दिन्छन् र तपाईंको पैसाको सुरक्षा पनि राम्रो हुन्छ । बैंकहरुले राम्रो सुविधा पनि दिएका हुन्छन् । बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बिमा गर्नुहोस् । बिमा गर्नुभयो भने तपाईंले आफ्नो लाखौं जोखिम न्यूनीकरण गर्न सक्नुहुन्छ । बिमा गर्दा तिरिएको रकम पनि अर्थात् प्रमियम पनि बचत नै हो ।

खर्च गर्नुअघि आवश्यक छ कि छैन भनेर १० पटक सोच्नुहोस् । आवश्यकता होइन भने खर्च गर्नुतिर नलाग्नुहोस् । खर्च गर्नुअघि पूर्वयोजना बनाएर बजेट तयार गरेर गर्नुपर्छ । वितीय साक्षरता भन्नु पैसाले कसरी, कति र के कम गर्छ भनेर बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवारको व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्नसक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनै न कुनै तरिकाले राष्ट्रलाई समेत असर पर्दै जानु हो ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु