गृहपृष्ठ नेप्से ऐतिहासिक उचाइमा, कारोबार रकम पनि हालसम्मकै उच्च

नेप्से ऐतिहासिक उचाइमा, कारोबार रकम पनि हालसम्मकै उच्च

सेयर बजार परिसूचक नेप्से ऐतिहासिक उचाइमा पुगेको छ । केही दिनदेखि लगातार उकालो लाग्न थालेको नेप्से साताको अन्तिम दिन बिहीबार १८ अंकले बढेर इतिकासकै सर्वाधिक उचाइमा पुगेको हो । यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ अंकमा पुगेर फर्किएको थियो ।

अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि व्यापार, होटल, विकास बैंक, वित्त, निर्जीवन बिमा, लघुवित्त र जीवन बिमा समूह ओरालो लागे पनि बजारमा बढी हिस्सा रहेको बैंक समूह २.७ प्रतिशतले बढेपछि समग्र बजार परिसूचक १८.४३ अंकले बढेर १८९३.२४ अंकमा पुगेको हो । बैंकसहित जलविद्युत, उत्पादनमूलक, अन्य र म्युचुअल फन्ड समूह पनि बढेका छन् ।

बिहीबार २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँबराबरमा कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो भने बुधबारको तुलनामा पनि ८० करोड बढी हो । बुधबार ६ अर्ब ८१ करोडको सेयर किनबेच भएको थियो ।

आज पनि एनएमबी माइक्रोफाइनान्स सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा सबैभन्दा अगाडि छ । कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै पाँचथर पावर कम्पनी, हिमालय ऊर्जा विकास कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, नविल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, चिलिमे, नेपाल रिइन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंक सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा छन् ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु