गृहपृष्ठ पर्यटन क्षेत्रको पुन:उत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी

पर्यटन क्षेत्रको पुन:उत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी

कोरोनाभाइरस (कोभिड- १९) महामारीका कारण बढी प्रभावित पर्यटन क्षेत्रको पुन:उद्धार र पुन:उत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी रहेको सरोकारवालाले औंल्याएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धन गर्न आयोजना गरेको अन्तर्क्रियाका वक्ताले थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र पर्यटनका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका सहभागीले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिएका थिए । सहभागीले पर्यटन उद्योगको पुनःउद्धार र पुनःउत्थानका लागि स्वास्थ्य मापदण्डको पालनाका निमित्त सहकार्य आवश्यकता औंल्याए ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र सञ्चालन गर्ने काममा ठोस कदम बढिसकेको जानकारी दिए । उनले पर्यटन पुन:उद्धार र पुनःउत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता व्यक्त गरेको बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन मन्त्रालयका सचिव कोइरालाले यस संकटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गरे । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले कोभिड- १९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तुति गर्दै प्रभावकारी पुन:उद्धार र पुन:उत्थानका लागि निजी क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गरे ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु