गृहपृष्ठ नेपाल इन्फ्रास्ट्रक्चर बैँकका प्रत्येक कर्मचारीलाई साढे ५ हजार कित्ता सेयर !

नेपाल इन्फ्रास्ट्रक्चर बैँकका प्रत्येक कर्मचारीलाई साढे ५ हजार कित्ता सेयर !

आजदेखि सर्वसाधारण सेयर (आईपीओ) निष्कासन भएको नेपाल इन्फ्रास्ट्रक्चर बैँकका कर्मचारीलाई जनही औसत ५ हजार ५१७ कित्ता सेयर भाग लाग्ने भएको छ । बैँकका कर्मचारीका लागि छुट्याइएको ०.२ प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता सेयर २९ स्थायी कर्मचारीले पाउने भएका हुन् ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४६ मा धितोपत्र सार्वजनिक निष्कासन प्रक्रियाबारे उल्लेख छ । उपदफा ६ अनुसार निष्कासनकर्ता संगठित संस्थाले सर्वसाधारणलाई छुट्टयाएको सेयरमध्ये पाँच प्रतिशतसम्म सेयर धितोपत्र निष्कासन निर्देशिकामा तोकिएबमोजिम संस्थामा कार्यरत कर्मचारीका लागि छुट्टयाई बाँडफाँड गर्न सक्नेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा एकदेखि ५० जनासम्म कर्मचारी भएमा २ प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था छ । बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐनले भने कर्मचारीका लागि ०.५ प्रतिशतसम्म सेयर बाँडफाँड गर्नसक्ने व्यवस्था गरेको छ ।

तर, यो धितोपत्रमा पूर्वाधार विकास बैँक स्थापनासम्बन्धी नीति आकर्षित हुने भएकाले कर्मचारीलाई ०.२ प्रतिशत छुट्याइएको हो । राष्ट्र बैँकको निर्देशिकाअनुसार कर्मचारीका लागि सेयर छुट्याइएको कम्पनीका प्रबन्धक एवं सूचना अधिकारी सुवर्णकुमार सिंहले जानकारी दिए । पूर्वाधार विकास बैँकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था २०७४ अनुसार बैँकका कर्मचारीलाई ०.२ प्रतिशत सेयर छुट्याउनुपर्ने हुन्छ ।

कर्मचारीले समान रुपमा भने सेयर पाउँदैनन् । आन्तरिक कार्यविधिका आधारमा कर्मचारीलाई सेयर बाँडफाँड गरिएको छ । पे रोल, कार्यकाललगायतका आधारमा वितरण गरिने भएकाले सबै कर्मचारीले समान हिसाबले सेयर नपाउने सूचना अधिकारी सिंहले स्पष्ट पारे ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु