गृहपृष्ठ दुई सातामा २०० अंक बढ्यो सेयर बजार

दुई सातामा २०० अंक बढ्यो सेयर बजार

Stock-market-newskarobar
  • साप्ताहिक समीक्षा

सेयर बजार परिसूचक नेप्से दुई सातामा २०० अंकले उकालो लागेको छ । गत साता १०७.२१ अंकले बढेको बजार यो साता ९२.०५ अंकले बढेको हो । गत साता सेयर बजारमा पाँच दिन नै कारोबार भएको थियो भने यो साता चार दिनमात्र कारोबार भएको थियो । बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले कारोबार हुन पाएन ।

चार दिन कारोबार भएको बजारमा चार दिन नै हरियाली छाएको छ । आइतबार २१९४.४९ अंकबाट खुलेको बजार बुधबार २२८६.५४ अंकमा पुगेर बन्द भयो । गत साताको बुधबारदेखि बजार निरन्तर बढिरहेको छ । बुधबार १३ र बिहीबार १५ अंकले बजार बढेको थियो । यो साताको पहिलो दिन आइतबार बजार ४१ अंकले बढ्यो भने सोमबार ३, मंगलबार २८ र बुधबार १८ अंकले बजार बढेको छ ।

आइतबार वाणिज्य बैँक समूह ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लियो । कारोबार रकम ६ अर्ब ३२ करोड रुपैयाँ नाघ्यो । दिनभरमा २०६ कम्पनीको सेयर कारोबार भयो । बजारमा बैँक समूहको करिब ६८ प्रतिशत हिस्सा रहेकाले सामान्यतः बैँक समूह बढ्दा बजार पनि उचालिने गर्छ । बजारमा आइतबार प्रभु लाइफ, नारायणी डेभलपमेन्ट बैँक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र युनाइटेड फाइनान्सको सेयर मूल्य सर्वाधिक बढ्यो ।

नेप्से सोमबार ३.७ अंकले उकालो लाग्यो भने ५ अर्ब ५२ करोडको सेयर किनबेच भयो । आरम्भ चौतारी लघुवित्त, नाराणयी डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैँकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । प्रभु लाइफ, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैँकलगायतका कम्पनी सर्वाधिक मूल्य बढ्नेको सूचीमा परे ।

मंगलबार सेयर बजार परिसूचक २८.३१ अंकले बढ्यो । नेप्से बढ्दा ८ कम्पनीको मूल्यमा उछाल आयो । आईएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स, अप्पर तामाकोशी, प्रभु लाइफ, समृद्धि फाइनान्स र गुर्खाज फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो । सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैँक र मल्टीपर्पोज फाइनान्स पनि परे । मंगलबार ४ अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर किनबेच भयो ।

बुधबार नेप्से १८ अंकले बढ्दा १० कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्यो । मूल्य अधिक बढ्नेमा ६ वटा माइक्रोफाइनान्स कम्पनी तथा दुईवटा विकास बैँक र दुईवटा वित्त कम्पनी रहे । कर्पोरेट डेभलपमेन्ट बैँक, आरम्भ चौतारी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैँक, गुर्खाज फाइनान्स, प्रभु लाइफ, गणपति माइक्रोफाइनान्स, समृद्धि फाइनान्स र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

शतप्रतिशत हकप्रदका लागि बुक क्लोज भएर मूल्य समायोजन भएको नारायणी डेभलपमेन्ट बैँकमा लगानीकर्ताको उस्तै आकर्षण देखियो । कम्पनीले पुनः २०० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेकाले लगानीकर्ताले सेयर माग बढाएका छन् । बुधबार ५ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भयो । साताको अन्तिम कारोबारसँगै कुल बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९३ करोड नाघेको छ ।

कोभिड‑१९ महामारीका कारण लगानीका क्षेत्रहरू संकुचित भएसँगै ब्याजदर न्यून हुँदा बजार उचालिएको हो । ब्याजदर र सेयर बजारबीच सधैँ विपरीत सम्बन्ध हुने गर्छ अर्थात् ब्याजदर बढ्दा बजार घट्छ भने ब्याजदर घट्दा बजार बढ्छ । अझै पनि बैँकहरूले ब्याजदर बढाउन सक्ने अवस्था छैन । बजारमा तरलता बढी भएपछि राष्ट्र बैँकले पुस तेस्रो सातामात्रै २० अर्ब रुपैयाँबराबरको २८ दिने रिभर्स रिपो जारी गरेर नगद प्रशोचन गरेको थियो । अहिले पनि वित्तीय संस्थामा एक खर्बभन्दा बढी तरलता रहेको राष्ट्र बैँकले जनाएको छ ।

बजार बढ्नुको अर्को कारण सेयर बजारको प्राविधिक उन्नति पनि हो । अनलाइन कारोबार सुरु भएसँगै सेयर बजारमा लगानीकर्ताले आफैँ किनबेचको अवसर पाएका छन् । यस्तै धितोपत्र बोर्डले हालैमात्र टि प्लस टु (किनबेच गएको दुई दिनमै राफसाफ) गर्ने गरी ऐन संशोधन गरेको छ । माघ ११ गतेदेखिका हरेक कारोबार टि प्लस टु मा राफसाफ हुनेछन् ।

नेपाल धितोपत्र बोर्डले हालै मात्र सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको छ । ब्रोकर कमिसन दर घटेर अधिकतम ०.४ प्रतिशतदेखि र न्यूनतम ०.२७ प्रतिशत कायम भएको छ । यसबाहेक बजारमा सक्रिय लगानीकर्ता बढ्नु, कुल लगानीकर्ता नै बढ्नुलगायतले पनि बजारको आकार र पहुँच बढेको स्पष्ट गर्छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार कहिलेसम्म बढ्छ ?

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु