गृहपृष्ठ नेप्सेमा १६ अंकको वृद्धि, एकैदिन २१ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति
नेप्सेमा १६ अंकको वृद्धि, एकैदिन २१ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति
सेयर बजार परिसूचक नेप्से सोमबार १६ अंकले बढेको छ । होटल, विकास बैँक, जलविद्युत, वित्त, उत्पादनमूलक, लघुवित्त र जीवन बिमा समूह राताम्य बने पनि बैँक, व्यापार, निर्जीवन बिमा, अन्य र म्युचुअल फन्ड समूह बढेपछि समग्र बजार परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा उक्लिएको छ । सोमबार ‘क’ वर्गमा सूचीकृत कम्पनीहरूले लय गुमाउँदा सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेको छ ।
कारोबार रकममा सोमबार पनि उत्साह देखियो । कुल २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम आइतबारको भन्दा ४७ करोड कम हो । आइतबार ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
सोमबार नागरिक लगानी कोष, गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, नेसनल हाइड्रोपावर र हिमालयन पावरको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ । सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा गोर्खाज फाइनान्स, राष्ट्रिय बिमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल बैँक पनि परेका छन् ।
आज पनि नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६० करोड ३७ लाखको सेयर कारोबार भएको छ । यो कम्पनीको आइतबार ६६ करोड ८२ लाखको सेयर किनबेच भएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते बुक क्लोज मिति घोषणा गरेको छ ।
कुल बजार पुँजीकरण आइतबारको ३२ खर्ब ६६ अर्बबाट बढेर ३२ खर्ब ८७ अर्ब नाघेको छ ।
प्रकाशित समय १६:२० बजे

















