गृहपृष्ठ उपभोक्ता ठग्ने व्यवसायीलाई धमाधम कारबाही
उपभोक्ता ठग्ने व्यवसायीलाई धमाधम कारबाही
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने सात जना व्यवसायीलाई आइतबार कारबाही गरेको छ । विभागले बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय सञ्चालन गरेका सात व्यवसायीलाई कारबाही गरेको हो ।
विभागको कारबाहीमा पर्ने व्यवसायीमा काठमाडौँका अनिता इन्टरप्राइजेज, रजिता किराना स्टोर र पुनम ट्रेड लिंक छन् । त्यस्तै ललितपुरका केएम लिकर स्टोर, मेघा मार्ट प्रालि, एडी स्टोर र महानगर इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ विभागको कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका सातमध्ये चार वटालाई विभागले २५ हजार जरिवाना गरेको छ । विभागले केएम लिकर स्टोरलाई १० हजार तथा अनिता इन्टरप्राइजेज, एडी स्टोर र महानगर इन्भेस्टमेन्टलाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
रजिता किराना स्टोर, पुनम ट्रेड लिंक र मेघा मार्ट प्रालिलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय गर्न निर्देशन दिइएको छ । विभागले खान आयोग्य वा म्याद सकिएको २ हजार ७५५ रुपैयाँबराबरको सामान नष्ट गरेको छ । अनुगमनको क्रममा गलत ठहरिए विभागले व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गर्ने गरेको छ ।
प्रकाशित समय १५:४३ बजे

















