गृहपृष्ठ धितोपत्र बोर्डसँग दोलखाबासीले भने- जिल्लाबाटै सेयर किनबेच गर्न पाइयोस्

धितोपत्र बोर्डसँग दोलखाबासीले भने- जिल्लाबाटै सेयर किनबेच गर्न पाइयोस्

sebon-newskarobar

नेपाल धितोपत्र बोर्डले दोलखामा पुँजीबजारबारे प्रशिक्षण दिएको छ । मोफसलमा सबैभन्दा धेरै लगानीकर्ता रहेको दोलखामा पुँजीबजारको वर्तमान अवस्था, यसको अवसर र जोखिमका बारेमा जानकारीमूलक कार्यक्रम गरेको हो ।

दोलखामा अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कारण अधिकांश नागरिक सेयर लगानीकर्ता छन् । दुई महिनाअघि सेयर बाँडफाँडपछि अप्पर तामाकोसीमा ९९ प्रतिशत नागरिक सेयरधनी रहेको अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

दोलखाका जनप्रतिनिधि, लगानीकर्ता, सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा सेयरबजारलाई जिल्लासम्म सहज बनाउन आग्रह गरेका थिए । धितोपत्र बोर्डका निर्देशक अम्बिकाप्रसाद गिरीले सेयरमा लगानीका लागि अब कागजी प्रमाण पत्रकाको सट्टा डिजिटल प्रणालीको विकास गरेको जानकारी दिए । सेयरमा लगानी गर्नुअघि हितग्राही खाता खोल्न र प्रमाण पत्रमा भएको सेयर समेत हितग्राही खातामै जम्मा गर्ने आग्रह गरे ।

सबै दोलखालीको हितग्राही खाता नहुँदा पनि सबैको प्रतिक्षामा रहेको अप्पर तामाकोसीको सेयरमा लगानी गर्नका लागि दोलखालीलाई हितग्राही अनिवार्य नगरिएको उनले बताए । गाउँ-गाउँमा बैंक पुगेकाले हितग्राही खाता खोल्न र कागजी प्रमाणपत्रलाई खातामा जम्मा गर्न नजिककै बैंकबाट सहज हुने बोर्डका अर्का उपनिर्देशक अनुजकुमार रिमालले जानकारी दिए ।

पुँजीबजारलाई सबैको पहुँचमा पुर्याउन बोर्ड लागि रहेकाले लगानीर्ताले पनि सहजै दोस्रो बजारमा समेत कारोबार गर्न सक्ने बताए । धेरै दोलखाली सेयर बजारमा लगानीकर्ताको रुपमा प्रवेश गरे तापनि आधुनिक प्रणालीमा प्रमाण पत्रको डिम्याट गराउन जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, बैंकहरुले समेत सहयोग गर्नुपर्ने बताए । पुँजीबजारको बारेमा जनस्तरमा जानकारी गराउन बोर्ड पनि लागेकाले निर्देशक गिरीले बताए ।

अन्तर्राष्ट्रिय वित्त निगमले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा गरेको अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । निगमकी हाइड्रो वातावरणीय तथा सामाजिक गभर्नेन्स कन्सल्टेण्ट सोफिया खातुन तमोटले गत वर्ष अयोजना प्रभावित क्षेत्रमा निगमले अध्ययन गरेको जानकारी दिइन् ।

निगमले जलविद्युत आयोजनाको सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको दोलखा, रसुवा, लम्जुङ र सोलुखुम्बुमा स्थानीय स्तरमा समुदायस्तरमै पुगेर छलफल तथा अन्र्तक्रिया गरेर अध्ययन गरेको जानकारी दिइन् । जलविद्युतका अहिलेसम्मका ठूला आयोजनाहरु यिनै जिल्लाहरुमा निर्माण सम्पन्न भएका र निर्माणाधीन छन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले जलविद्युत आयोजनाको सेयरमा भएको बुझाइ र उनीहरुले सेयरमा लगानी गरेर पाउने प्रतिफलको अवस्था कस्तो रहेको छ भन्ने विषयमा अध्ययन गरेको जानकारी दिइन् । आयोजनाको सेयरले महिला, वृद्धवृद्धा र विपन्नहरुमा पारेको प्रभावको पनि अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनबाट आगामी दिनमा आयोजना प्रभावित क्षेत्रको लागि सेयर निष्काशन, संकलनमा नीति निर्माण तहलाई पनि सहयोग पुग्ने उनले विश्वास गरिने । कार्यक्रममा साधारण सेयर, संस्थापक सेयर, दोस्रो बजारको सेयरमा लगानी यसका प्रक्रियाको बारेमा समेत अन्तक्र्रिया भएको थियो ।

विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले सेयरका बारेमा जानकारीमूलक कार्यक्रम सेयर संकलन गर्नुभन्दा अघि नै हुनुपर्नेमा ढिला भएको गुनासो गरे । अप्पर तामाकोसीप्रति दोलखाबासीका अपेक्षा धेरै भए पनि सर्वसाधारणभन्दा कम गरेकोमा गुनासो गरे । अर्का लगानीकर्ता रत्नबहादुर श्रेष्ठले लगानीकर्ता धेरै भएको जिल्लामा स्थानीयस्तरबाटै दोस्रो बजारमा समेत कारोबार गर्न मिल्ने गरी सेयर दलालको व्यवस्था गर्न बोर्डसँग माग गरे ।

प्रकाशित समय ०७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु