गृहपृष्ठ कोरला–मुक्तिनाथ जोड्ने पुल निर्माण गरिदै

कोरला–मुक्तिनाथ जोड्ने पुल निर्माण गरिदै

मुस्ताङ- मुस्ताङको उत्तरी कोरलानाका, पवित्र धार्मिकस्थल मुक्तिनाथ र कागबेनीधाम जोड्ने महत्वपुर्ण लुप्रा पान्डाखोला मोटरेबल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
कालिगण्डकी करिडोर जोमसोम कार्यालयका अनुसार लामो समयदेखि ढिलासुस्ती हुदै आएको उक्त पुलको ९० प्रतिशत काम संम्पन्न भएको छ भने बाँकी १० प्रतिशत काम चालु आर्थिक वर्षमा सक्नेगरि काम संञ्चालन भईरहेको छ ।
आर्थिक वर्ष ०६९ साल असार २८ मा लोकप्रिय शङ्करमाली जेभीले निर्माणको जिम्मा लिएको हो । साँढे ३ वर्ष सम्झौता अवधि रहेको उक्त पुलको निर्माणकार्य लामो समयदेखि ढिलासुस्ती हुदै आएको छ ।
पुलको संम्झौता अवधि सकिएर पनि काम संम्पन्न गर्ने तर्फ काम नदेखाएपछि केही महिनाअघि सडक विभागले निर्माण कम्पनीलाई ढिलासुस्तीको कारण देखाउन पत्र पठाएको थियो । बेला बेलामा काम पुरै रोकिने ,थोरै निर्माण सामाग्री र न्युन जनशक्ती परिचालन भएको जनाउदै सडक विभागले समयमा काम सम्पन्न गर्न ताकेता गरेको हो ।
यसपछि कम्पनीलाई समय थप गरेर काम पुरा गर्न समय उपलब्ध गराईएको करिडोरले जनाएको छ ।अहिले थपिएको पुलको सम्झौता अवधि चालुआर्थिक वर्षमा सकिदै छ । लम्बाई ५० मिटर र चौडाई ७ मिटर रहेको उक्त लुप्रा पान्डाखोला पुलको काम कम्पनीले ४ करोड ७ लाख लागतमा ठेक्का प्राप्त गरेको हो ।
यस पुलको निर्माणकार्य भारतीय राजदुतावासले एक वर्षअघि जोमसोममा निर्माण गरेको पुलको लगत्तै सुरु गरिएको जनाईएको छ ।जोमसोममा निर्माण भएको पुलमा सवारी हुईकिन थालेको लामो समय बितिसक्दा समेत यसपुलको काम पुरा हुन सकेको छैन ।
कालिगण्डकी करिडोर र जिल्ला प्राविधिक कार्यालयले लामो समय बितिसक्दा समेत पुलको काम पुरा नगरी ढिलासुस्ती भएको जनाउदै ८ वटा निर्माण कम्पनीको नामलिष्ट शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जिल्लामा संञ्चालित बिकास आयोजनामा भएको ढिलासुस्ती प्रति गम्भिर ध्यानआर्कण भएको बताए ।उनले संम्झौता अवधि सकिन लागेका र ढिल्ला सुस्ती गरेका निर्माण कम्पनी र ठेकेदारलाई समयमै काम संम्पन्न गर्न अनुरोध गरेको र अटेर गर्ने कम्पनी र ठेकेदारलाई कानुन बमोजिम कारवाही गर्ने बताए ।
कालिगण्डकी करिडोरका आयोजना प्रमुख नरेन्द्र सुबेदीका अनुसार ठेकेदार कम्पनी फेरबदल र प्राविधिक समस्याका कारण पुल निर्माणमा ढिलाई भएको जनाए । उनले पुलको काम समयमै संम्पन्न गराउन ठेकेदारलाई प्रशासनमा राजी गराईएको र चालु आर्थिक वर्षमा संम्पन्न गर्ने लक्षका साथ काम अघि बढेको बताए । पुलमा एप्रोज रोड विस्तार, नदी नियन्त्रण र स–साना काम बाँकी रहेको छ ।
त्यस्तै लामो समयदेखि निर्माणकार्य सुरु गरिएको उक्त पुल भारतीय नाकाबन्दी, भुकम्प र स्थानीयतह, प्रदेशसभा र संघीय निर्वाचनका कारण पुल निर्माणमा ढिलाई भएको उक्त पुलका ठेकेदार गणेश कार्कीको भनाई छ ।
कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत ल्प्रा पान्डा खोला पुल नहुदा मुक्तिनाथ दर्शन गर्न आउने तिर्थयात्रीले वर्षायाम शास्ती व्यहोर्दे आईरहेका छन् । वर्षायाममा पान्डाखोलामा पुल नहुदा मुक्तिनाथ जाने र उपल्लो मुस्ताङ जाने पर्यटक तथा स्थानीयले चर्को शुल्क तिरेर ट्याक्टर मार्फत खोला वारपार गर्र्ने बाध्यता छ ।

प्रकाशित समय ०८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु