गृहपृष्ठ काम ढिलाे गर्ने निर्माण व्यवसायी डीजी गुहार्दै, कारवाहीबाट जाेगाउन आग्रह

काम ढिलाे गर्ने निर्माण व्यवसायी डीजी गुहार्दै, कारवाहीबाट जाेगाउन आग्रह

काठमाडौ- नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार सडक विभागका नवनियुक्त महानिर्देशक रविन्द्रनाथ श्रेष्ठलाई भेटी निर्माण व्यवसायीका विद्यमान समस्या र समाधान गरिदिन आग्रह गरेको छ ।
महासंघले भूकम्प तथा नाकाबन्दीका कारण प्रभावित निर्माण आयोजनाहरुको म्याद एक वर्ष थप गर्ने भनिएता पनि अहिले सम्म थप नभएको भन्दै म्याद थप हुन सके हाल देश भर संचालनमा रहेका अधिकांश निर्माण आयोजनाहरुको काम समयमा नै सम्पन्न हुने जानकारी गराएको छ ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले पछिल्लो समय निर्माण सामाग्रीमा लगातार मूल्यवृद्धि भइरहेको र त्यसपछि समेत निर्माण सामाग्रीको चरम अभाव भइरहेको तर्फ महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ठोस पहल गरिदिन आग्रह गरेका हुन् ।
व्यवसायीको माग अनुसार सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्ने भन्दै प्रतिनिधिमण्डलले सरकारी निकायबाट आह्वान हुने जुन सुकै वोलपत्रहरुमा पनि अनिवार्य मूल्य समायोजनको व्यवस्था हुनुपर्ने माग गरेको छ ।
निर्माण आयोजनाहरुमा आई राजनीतिक दलका कार्यकर्ताहरु लगायत स्थानीयले चन्दा माग गर्ने गरेको र चन्दा नदिए ज्यानै मार्ने जस्तो गम्भिर धम्की दिने र निर्माण सामाग्रीहरुमा निरन्तर आगजनी गरी करोडौंको आर्थिक क्षति पु¥याउने सम्मका क्रियाकलाप भई रहेकोे तर्फ पनि व्यवसायीले महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
महासंघका प्रवक्ता विष्णु बुढाथोकीले चन्दा आतंक बन्द गरी निर्माण आयोजनाहरुमा आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि पहल गरिदिन पनि प्रतिनिधिमण्डलले आग्रह गरेको जानकारी दिए ।
सडक विभाग लगायत विभिन्न सार्वजनिक निकायहरु अन्तर्गतका निर्माण कार्यहरु सम्बन्धित निर्माण व्यवसायीले समयमै सम्पन्न गरेता पनि निर्माण व्यवसायीले विभिन्न बजेट शिर्षकहरुबाट भुक्तानी पाउनु पर्ने करिब ४० अर्ब भन्दा बढि रकम नपाएको जानकारी गराएको छ ।
समयमै भुक्तानी नभएका कारण निर्माण व्यसायीको घर खेत नै लिलाम भइ सडकमा आउने परिस्थिति श्रृजना भएकोले सम्पन्न भई सकेका निर्माण कार्यहरुको वजेट निकासा तथा भुक्तानीका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन आग्रह गरेको प्रवक्ता बुढाथोकीले बताए ।
विना बजेट निर्माण आयोजनाहरुको बोलपत्र आह्वान, कर्मचारीको अनावश्यक सरुवा, सरकारी निकायबीच देखिएको समन्वय अभाव, सडक विस्तार कार्यमा अदालतको मुद्दा, मुआब्जाको समस्या जस्ता कारणले पनि निर्माण कार्यमा ठूलो समस्या देखिएको महासंघले जनाएको छ ।
विभागका महानिर्देशक श्रेष्ठले व्यवसायीका मागप्रति आफू सकारात्मक रहेको बताए । उनले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताए ।
सो प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, उपाध्यक्ष तेजकुमार कुरुम्बाङ, उप महासचिवद्धय विष्णु बुढाथोकी र सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, कार्य समिति सदस्यहरु दीपक गौतम, हरि ढकाल, सरस्वती कार्की, प्रशासकीय अधिकृत नवराज भण्डारी, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु