गृहपृष्ठ भदौ १६ देखि सर्तसहित अन्तर्राष्ट्रिय उडान
भदौ १६ देखि सर्तसहित अन्तर्राष्ट्रिय उडान

सरकारले लकडाउनको पाँच महिनापछि भदौ १६ गतेदेखि सशर्त नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड‑१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट सर्तसहितको नियमित उडान गर्ने भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि सर्तसहित निश्चित आधारमा नियमित उडान सुरु गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताए ।
त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई उडान तालिका बनाउने जिम्मेवारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ । मन्त्री खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।
बैठकले पीसीआिर सहज नभएका मुलुक कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावलीबमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन सकिनेछ ।
यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्नेछ ।
यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइटमात्र सञ्चालन हुनेछ । पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै मन्त्री खतिवडाले ती मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड‑१९ महामारी संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ देखि साउन ६ गतेसम्म देशभर लकडाउन लागू गरेको थियो । तत्कालीन परिस्थितिमा संक्रमण दर कम भएको आंकलन गरी विज्ञहरुको सुझावमा सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने घोषणा गरेको थियो । तर, राजधानी काठमाडौँसहित देशभर कोभिड‑१९ का संक्रमित बढेपछि सरकारले पुनः भदौ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल मुलुकभर कोभिड‑१९ संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८३८ जना संक्रमण थपिएका छन् । व्यावसायिक उडान ठप्प हुँदा वायु सेवाप्रदायक कम्पनीलाई नराम्ररी असर परेको छ । यसले मुलुकको समग्र हवाई क्षेत्र थलिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।
प्रकाशित समय २१:३६ बजे