गृहपृष्ठ कोरोना रोकथाम र उपचारमा १२ अर्ब खर्च
कोरोना रोकथाम र उपचारमा १२ अर्ब खर्च
कोभिड‑१९ को रोकथाम र उपचारका लागि हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट गरी करिब १२ अर्ब रुपैयाँ खर्च भएको छ । मन्त्रिपरिषद्को भदौ ४ गतेको बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले खर्च विवरण सार्वजनिक गरेका हुन् ।
साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको उनले बताए । औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको उनले जानकारी दिए ।
केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा. खतिवडाले बताए ।
प्रकाशित समय २१:२५ बजे

















