गृहपृष्ठ नेपालमै पर्यटन रोजगारको व्यापक माग सिर्जना हुन्छ : विज्ञ
नेपालमै पर्यटन रोजगारको व्यापक माग सिर्जना हुन्छ : विज्ञ
पर्यटन क्षेत्रका विज्ञहरूले अबका केही वर्षभित्र नेपालमै अन्तर्राष्ट्रिय स्तरको पर्यटन रोजगारको व्यापक माग सिर्जना हुने भएकाले सोहीअनुसारको जनशक्ति तयार पार्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ, भर्खरैमात्र लोन्ली प्लानेटले काठमाडौंलाई विश्वकै घुम्नैपर्ने सहरभित्र समेटेको छ,’ अन्तर्राष्ट्रिय पर्यटन शिक्षाविद् डा. बर्न भान वाल्विकले भने, ‘हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटल खोल्दैछ, हिल्टनजस्ता अरु थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्नेछन्, त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको माग हुनेछ ।’
ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को शनिबार राजधानीमा आयोजित आठौं दीक्षान्त समारोहमा डा. वाल्विकले दुई वर्षअघिमात्र महाभूकम्पबाट ठूलो नोक्सानी व्यहोरेको नेपालको पर्यटन क्षेत्र निकै छिटो पुनःस्थापित भएको बताए । प्रकोप तथा संकटपछिको पर्यटनको व्यवस्थापनसम्बन्धी विज्ञ मानिने डा. वाल्विकले भूकम्पलगत्तै पाटा नेपालको निमन्त्रणामा पर्यटन पुनःस्थापनाका विषयमा आफ्ना धारणा राखेका थिए ।
यसैगरी, स्विट्जरल्यान्डको स्विस होटल एसोसिएसन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको परिप्रेक्ष्यमा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए ।
नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्विट्जरल्यान्डले ६० को दशकदेखि नै सहयोग गर्दै आएको चर्चा गर्दै गेट कलेजले नेपालमै स्वीस सम्बन्धनमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएकोमा सराहना गरिन् ।
गेट कलेजका संस्थापक÷प्रमुख कार्यकारी अधिकृत खेम लकाईं, एकेडेमिक काउन्सिल प्रमुख डा. दलजित राव र गेट सञ्चालक समितिका अध्यक्ष चिजकुमार श्रेष्ठले ११ वर्षदेखि गेट कलेजले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा आफूलाई उभ्याउन सक्ने जनशक्ति उत्पादनमा जोड दिँदै आएको जानकारी दिए ।
सन् २०१८ को दीक्षान्त समारोहबाट १५औं र १६औं ब्याचका ९७ जना विद्यार्थी दीक्षित भएको गेट कलेजले जनाएको छ । कार्यक्रममा १६औं ब्याचबाट सर्वोत्कृष्ट नतिजा हासिल गर्ने राजमिलन पौडेलसहित उत्कृष्ट अनुसन्धानका पौडेलसहित १५औं ब्याच स्विटी श्रेष्ठलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । गेट कलेजबाट हालसम्म नेपालभित्रका सबै जिल्लाबाहेक १९ मुलुकबाट करिब ४ सय ५० सय विद्यार्थी होटल व्यवस्थापन शिक्षाको स्नातक तहमा दीक्षित भइसकेका छन् ।
प्रकाशित समय ०७:२७ बजे

















