गृहपृष्ठ एक्याप प्रवेश शुल्क बढेकोमा व्यवसायीको आपत्ति
एक्याप प्रवेश शुल्क बढेकोमा व्यवसायीको आपत्ति
आधार शिविरमा हेलिकप्टर रोकिनुपर्ने माग
अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकका लागि बढाइएको प्रवेश अनुमति शुल्कप्रति पोखराका पर्यटन व्यवसायीले आपत्ति जनाएका छन् । त्यस्तै, अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान नरोकिएको भन्दै व्यवसायीले चिन्ता पनि जनाए ।
पर्यटकीय सिजनको मूल समय पारेर शुल्क बढाएको भन्दै व्यवसायीले बढाएको शुल्क लागू नगर्न सरोकारवालालाई आग्रह गरेका छन् । पोखरा पर्यटन परिषदले सरोकारवालासँग आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सिजनको मुखमा बढाएको नयाँ शुल्कले पर्यटन आगमन बढ्ने नभई घट्न जाने बताए । कम्तीमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्ने व्यवसायीको भनाइ छ ।
परिषदका उपाध्यक्ष गोपी भट्टराईले सरकारले २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारकै कारण असफल हुने बताए । ‘पर्यटक आगमन बढाउनुपर्ने बेला अनेक शुल्क लिन थालिएको छ । यसले आगमन बढ्दैन, घट्न जान्छ,’ उनले भने, ‘बरु एकपटक अनुमति लिएर पटक–पटक अन्नपूर्ण क्षेत्र घुम्न जान दिने गरी नयाँ व्यवस्था गर्नुपर्छ ।’
परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले आजको भोलि शुल्क बढेको भन्दै आपत्ति जनाए । कम्तीमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्नेमा व्यवसायीसँग छलफलै नगरी रातारात शुल्क बढाएको भन्दै आपत्ती जनाए । ‘व्यवसायीको पनि चाहना बुझ्नुपर्छ । आजको भोलि शुल्क बढाएर सिजनका बेला सरकारले पर्यटन आगमनमा अवरोध गर्न खोजेको हो,’ उनले भने, ‘छलफलबिना बढाएको नयाँ शुल्कले राम्रो गर्दैन ।’
एक्यापका आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटकका लागि शुल्क बढाउने प्रस्ताव अहिले नयाँ नभई पुरानो भएको बताए । यसपटक देखि लागूमात्र भएको उनले बताए । सन् २०११ देखि नै शुल्क बढाउने प्रयास भएको पनि उनले बताए । ‘सिजनका बेला बढेको शुल्कले असर पारेको छ । यसबारेमा हामी पनि गम्भीर छौं । तर सरकारले राजपत्रमा प्रकाशित गरेपछि हामीले कार्यान्वयन गर्नैपर्छ,’ उनले भने ।
उनले नेपाली पदयात्रीलाई पनि शुल्क लाग्ने नयाँ प्रावधान भए पनि त्यसलाई व्यवस्थापन गर्न गाह्रो भएको बताए । स्थानीयबासीलाई यो शुल्क नलाग्ने पनि गुरुङले जनाए । एक्यापले हेलिकप्टर उडान रोक्न असफल भएको उनले बताए । ‘हामीले बारम्बार रोक्न प्रयास गरेका हौं तर सकेका छैनौं,’ उनले भने ।
एक्यापका अनुसार पदयात्रामा जाँदा अब नेपाली नागरिकले प्रतिव्यक्ति एक सय रुपैयाँ तिर्नुपर्नेछ । सार्कका सदस्य मुलुकका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य मुलुकका विदेशीले प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि, नेपाली पदयात्रीलाई शुल्क थिएन । त्यस्तै सार्क सदस्यले प्रतिव्यक्ति दुई सय र अन्य मुलुकका पर्यटकले दुई हजार रुपैयाँ तिर्नुपथ्र्यो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले एक्यापले स्थानीय तहसँग मिलेर काम गर्न नसकेको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐनअनुुसार काम भएको छ,’ उनले भने, ‘यो हामीले सहन सक्दैनांै ।’ कुँवरले उद्धार र राहतमा बाहेक अन्य व्यापारिक प्रयोजनमा हेलिकप्टर उडान गर्न नदिने पनि बताए ।
गण्डकी प्रदेश सदस्य राजीव पहारीले पदमार्ग जोगाउनुपर्ने बेला आएको बताए । उनले सरकारले स्थानीय तहसँग समन्वय नगरी शुल्क बढाएको भन्दै आपत्ती जनाए । त्यस्तै, आधार शिविरमा हेलिकप्टर उडान नरोक्ने हो भने पदमार्ग रोक्नुपर्ने अवस्था आउने पहारीले बताए । सदस्य पहारीले एक्यापले शुल्क बढाउने हो भने पर्यटकलाई पनि सुविधा दिनसक्नुपर्ने बताए ।
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले संरक्षित क्षेत्र पुरानै शैलीमा चलेको बताए । उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि केही निकाय पुरानै शैलीमा चल्दा समस्या निम्तिएको बताए । पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाले सार्वजनिक सम्पत्ति व्यवस्थापन र हस्तान्तरणमा विवाद सुरु हुन थालेको बताए ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले सरकारले लागू गरेपछि नयाँ नियम लागू हुने बताए । उनले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार गम्भीर रहेको बताए ।
परिषदका निवर्तमान अध्यक्ष केदार शर्माले सरकारले बिनाछलफल नयाँ नियम लादेको भन्दै आपत्ती जनाए । उनले पनि आधार शिविर क्षेत्रमा हेलिकप्टरको व्यापारिक उडान रोकिनुपर्ने बताए । टानका अध्यक्ष हरि भुजेलले पदमार्गमा शुल्क बढाउँदा आगमन खस्किने बताए ।
त्यस्तै सिजनका बेला शुल्क बढाउँदा पर्यटकलाई भन्दा पनि व्यवसायीलाई मर्का पर्ने बताए । महिनौंअघि प्याकेज बेचेका व्यवसायीले एकाएक नयाँ शुल्क लिँदा पर्यटकले नै शंका गर्ने ठाउँ पाएको बताए । परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटक प्रवद्र्धनमा राज्यको सहयोगको खाँचो रहेको बताए ।
प्रकाशित समय १७:२९ बजे

















