गृहपृष्ठ महिन्दा राजपाक्षे : राष्ट्रपतिबाट प्रधानमन्त्रीतर्फ

महिन्दा राजपाक्षे : राष्ट्रपतिबाट प्रधानमन्त्रीतर्फ

होला त सन् २००४ को पुनरावृत्ती ?

शुक्रबार साँझ महिन्दा राजपाक्षेले श्रीलंकाको प्रधानमन्त्रीको सपथ लिँदै गर्दा दुई पटक राष्ट्रपति भएको उनको विगत साक्षी थियो । राजपाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाउँदै गर्दा सम्भवतः श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि राजपाक्षेको उक्त विगत सम्झिए ।

राजापक्षेले अगुवाई गरिरहेको युनाइटेड पिपुल्स फ्रिडम एलाइन्स (युपिएफए)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रनिल विक्रमासिंघेको प्रधानमन्त्री पद संकटमा पर्याे । त्यसपछि राजपाक्षेका लागि उक्त पदमा पुग्ने बाटो खुल्यो ।

पेशाले वकिल र सन् १९७० मा पहिलो पटक श्रीलंकाको संसदका लागि चयन भएका उनको राजनीतिक करियर चम्किलो रहेको तथ्य उनले दुईपटक राष्ट्रपतिको कार्याभार सम्हालेबाटै पुष्टि हुन्छ । सन् २००५ र सन् २०१० मा उनी राष्ट्रपति भए । त्यसअघि सन् २००४ मा पहिलो छोटो अवधिका लागि श्रीलंकाको १८ औं प्रधानमन्त्री बने । तर, सन् २०१५ मा सिरिसेनाले उनलाई पराजित गरे ।

राजपाक्षेले नेतृत्व सम्हाल्दै गर्दा श्रीलंकाको गृहयुद्ध उत्कर्षमा थियो । श्रीलंकाका कतिपय भूभाग लिबरेसन टाइगर्स अफ तमिल इलम (लिट्टे)ले कब्जा गरेका थिए । ती क्षेत्रमा सरकारी सुरक्षा निकायको उपस्थिति नै थिएन भन्दा पनि हुन्छ ।

तर, राजपाक्षेकै राष्ट्रपतित्वमा श्रीलंकाली सेनाका अघि सन् २००९ मा लिट्टेका प्रमुख भिल्लुपिलाई प्रभाकरणले मृत्युवरण गर्नुपर्याे । त्यसअघि सेनाले लिट्टेविरुद्ध अभियान नै चलाएको थियो । प्रभाकरणको मृत्युपश्चात २६ वर्षदेखिको श्रीलंकाली गृहयुद्धको अन्त्य भयो ।

मुलुकबाट गृहयुद्धको अन्त्य गराउन सफल भए पनि उनिमाथि मानव अधिकार उल्लंघन गरेको आरोप लाग्यो । करिब साढे दुई वर्षको अभियानपश्चात लिट्टेलाई हराएपनि उनले उक्त आरोप खेपे । सोही सम्बन्धमा उनले एक अन्तर्वार्ताका क्रममा आरोप अस्वीकार गरेका थिए । त्यसबखत उनले अभियानका क्रममा कोही सर्वसाधारणको हत्या नगरेको र मानव अधिकार उल्लंघन गर्न चाहेको भए लिट्टे हराउन साढे दुई वर्ष नलाग्ने बताएका थिए ।

शुक्रबार प्रधानमन्त्रीको सपथ लिएका यी पूर्व राष्ट्रपतिले सन् २००४ को इतिहास दोहोर्याउन सक्लान् ? २००४ मा छोटो अवधिका लागि प्रधानमन्त्री चुनिएका उनी २००५ मा राष्ट्रपति भएका थिए । श्रीलंकामा त्यो सम्भावना छ ? समयले देखाउने छ ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु