गृहपृष्ठ नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्दछः प्रधानमन्त्री
नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देश बनाउनु पर्दछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् ।
विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले उक्त बताएका हुन् ।
‘नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं । अब यो अवस्था रहिरहन सक्दैन ।’
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसपछि मात्र उनीहरुले छोराछोरी पढ्न पठाउँछन् ।’
प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुलाईसृजनशिल र समाज सुधारको काममा लाग्न अब कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको बताउँदै भने, ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् । अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।
गत बर्षदेखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे । ‘विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्न शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने । अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले सहजिकरण गरेका थिए ।
प्रकाशित समय १६:४२ बजे
















