गृहपृष्ठ रंगेलीको आदर्श माविका अढाई सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रंगेलीको आदर्श माविका अढाई सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

sachhik samagri newskarobar

मोरङको रंगेलीस्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ विराटनगर एलिटका नयाँ पदाधिकारीको जुलाई १ देखि कार्यकाल सुरु भएको अवसर पारेर पहिलो सामाजिक कार्यका रुपमा रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सोमबारदेखि कार्यकाल सुरु भएको अवसर पारेर क्लबकी अध्यक्ष सोविका पाण्डे, प्रथम उपाध्यक्ष अनुराधा थापा, सचिव प्रेरणा जोशी, क्लबका निर्देशक सर्वजीतराज पाण्डेलगायतले कक्षा १ देखि ५ सम्म अध्ययनरत २५० विद्यार्थीलाई कपी, पेन्सिल, इरेजर, कटर र खाजाका रुपमा बिस्कुट वितरण गरेका छन् ।

सो अवसरमा विद्यालयका आधारभूत तहका प्रमुख कृष्णदेव दाशले सो विद्यालयमा अत्यन्त गरिब, दलित तथा सिमान्तकृत समुदायका वालवालिका मात्र अध्ययनरत रहेको बताउँदै गरिबीकै कारण विद्यार्थीले अध्ययनमा निरन्तरता दिन नसकेको जानकारी गराए । उनले शैक्षिक सामग्रीकै अभावमा विद्यार्थीको पठनपाठनमा समस्या सिर्जना भइरहेको अवस्थामा क्लबले विद्यार्थीलाई सामाग्री दिएर सहयोग गरेको भन्दै आभार प्रकट गरे ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा क्लबकी अध्यक्ष सोविका पाण्डेले आफ्नो पहिलो कार्यकाल सोही विद्यालयमा शैक्षिक सामग्री वितरण गरेर सुरु भएको बताइन् । उनले विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका विद्यार्थीलाई आगामी दिनमा पनि क्लबमार्फत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । लायन्सका सबै क्लबको कार्यकाल जुलाई १ तारिखदेखि सुरु हुन्छ ।

गत वर्ष डिसेम्बरमा मलिका रिजालको अध्यक्षतामा स्थापना भएको उक्त क्लबले हालसम्म ताप्लेजुङका अनाथ बालबालिकालाई न्यानो कपडा वितरण, प्रत्येक महिना विराटनगरस्थित वृद्धाश्रमलाई खाद्यान्न वितरण, अपांगता भएका व्यक्तिलाई ह्विल चेयर वितरण, विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण, रक्तदान, योग शिविरमा पानी वितरणलगायत थुप्रै सामाजिक कार्य गरेको जनाइएको छ ।

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु