गृहपृष्ठ ‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको प्राथमिकतामा’

‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको प्राथमिकतामा’

ghopa-camp-newskarobar

उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका सबै समस्या समाधानका लागि सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २६औं वार्षिकोत्सव तथा १०५औं बिपी जयन्तीको अवसरमा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विगतमा देखिएका समस्यालाई भविष्यमा देखा नपर्ने गरी समाधान गर्न सरकार अगाडि बढिसकेको प्रस्ट्याए ।

यादवले विगतदेखि नै प्रतिष्ठानमा समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न अहिले विशेष परिस्थिति बनेको बताए । मन्त्री यादवले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था अहिलेको नीतिमा आएको भन्दै त्यसलाई नागरिकले प्राप्त गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गरे ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. गुरु खनालले प्रतिष्ठानमा निर्माणाधीन रहेका भवनहरुको निर्माण पूरा गर्न आवश्यक रहेको बताए । उनले भवन निर्माण सम्पन्न भए सर्वसाधारणले सुलभ रुपमा सेवा पाउने दाबी गरे । कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रतिष्ठानलाई व्यवस्थित गर्न माग गरे । भण्डारीले प्रतिष्ठानमा आइसियु बेड कम भएको र इमरजेन्सी वार्डमा बिरामीको अत्यधिक चाप रहेका कारण उपचारमा समस्या हुने गरेको बताउँदै त्यसको समाधानमा लाग्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रतिष्ठानका निर्देशक प्रा. डा. गौरीशंकर साह, अमेरिकास्थित बासिङटन डिसी युनिभर्सिटीका प्रा. डा. रामानन्द लक्ष्मीनारायण लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित समय १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु