गृहपृष्ठ डेंगु नियन्त्रणका लागि विराटनगरको विद्यालय केन्द्रित कार्यक्रम

डेंगु नियन्त्रणका लागि विराटनगरको विद्यालय केन्द्रित कार्यक्रम

dengu biratnagar-newskarobar

डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । विद्यार्थीमा डेंगुको संक्रमण भेटिएसँगै महानगरले यस्तो कार्यक्रम ल्याएको हो । शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टे नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रासायनिक धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरेका थिए । यसअघि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो ।

लामखुट्टे धेरै हुने ठाउँको खोजी गर्ने र मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगिङ गरिरहेको छ । यससँंगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिबार मात्रै वडा नम्बर ७ र १० का सरकारी, गैरसरकारी कार्यालय, सामुदायिक तथा निजी विद्यालयमा फगिङ गरिएको छ । यो अभियान १९ वटै वडामा क्रमशः गर्दै लागिने महानगरले जनाएको छ ।

केही महिनाअघि देखिएको डेंगु संक्रमित बिरामीको संख्या विराटनगरमा समेत बढेको छ । प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन धेरै पटक महानगरले गरिरहेको छ । विद्यालय, क्याम्पस तथा समुदायमा डेंगुबारे चेतनामूलक अभियानसमेत सञ्चालन गरिएको र लामखुट्टे नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको नगर प्रमुख पराजुलीले बताएका छन् । केही दिनअघि डेंगुको संक्रमणबाट विराटनगरमा एक विद्यार्थीको ज्यान गएको थियो ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु