गृहपृष्ठ प्रदेश १ मा पनि र्‍यापिड टेष्ट सुरू, ९३ जनाको नमूना परीक्षण

प्रदेश १ मा पनि र्‍यापिड टेष्ट सुरू, ९३ जनाको नमूना परीक्षण

कोरोना भए/नभएको पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोष्टिक टेस्ट पनि प्रदेश १ मा पनि सुरु भएको छ । अहिलेसम्म ९३ जनाको नमूना परीक्षण गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले दिएको जानकारी अनुसार जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रित हुने बताएका थिए । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौंपछि अधिक परीक्षण गर्नसक्ने ल्याबसमेत सञ्चालनमा आइसकेको छ ।

उता सम्भावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण (पीसीआर) अन्तर्गत गरिएको अहिलेसम्मको परीक्षणमा समेत प्रदेश १ मा कोरोना नभएको देखिएको छ । यसतर्फ कुल २ सय ११ नमूना संकलन भई परीक्षण गरिएकोमा ३६ महिलासहित १ सय ५३ पुरुषको रिपोर्ट नेगेटिभ देखिएको छ । शनिबार जम्मा ४ महिला र २७ पुरुष गरी जम्मा ३१ जनाको नमूना पठाइएको छ । प्रदेश सरकारद्वारा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको प्रबन्ध गरिएकोे छ ।

सरकारले विभिन्न स्थानमा सञ्चालन गरेका क्वारेन्टाइन राखिएका सर्वसाधारणको नमूना संकलन गर्न शुक्रबारबाट पाँच स्थानमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । झापा, मोरङ र उदयपुरमा निर्मित क्वारेन्टाइन स्थलमा पुगेर स्वास्थ्यकर्मीले नमूना संकलन गरिरहेका छन् । प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको छ ।

शनिबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९२ पुगेको छ । शनिबार ३९ जना थपिएका हुन । आइसोलेसन बेडमा जम्मा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार ४ सय १७ जना बसिरहेका छन् । आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना डिस्चार्ज भएको कोरोना सूचना डेस्कले जनाएको छ ।

प्रकाशित समय १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु