गृहपृष्ठ डायलासिसको औषधि अभाव, मिर्गौलापीडित जोखिममा

डायलासिसको औषधि अभाव, मिर्गौलापीडित जोखिममा

फाइल तस्बिर ।

धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ । अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् ।

‘डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ,’ अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।’  उनले प्रदेश र संघका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताए । बजारमा पनि औषधिको खोजी भइरहेको छ ।

प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ । ‘हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ । तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ,’ उनले भने । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

यसअघि दैनिक छ-सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८-१९ पुर्‍याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित संकट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

कोभिड-१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् । ‘प्रसूति शल्यक्रियालगायत नियमित प्रदान गरिने कुनै पनि सेवा रोकिएको छैन,’ प्रमुख चिकित्सक पोखरेलले भने । गत चैतमा दुई कोरोना संक्रमित भेटिएपछि उनीहरुको यही अस्पतालमा उपचार गरिएको थियो । बागलुङ नगरपालिका- ३ की ६५ वर्षीया महिला र सोही नगरपालिका- ४ की १९ वर्षीया युवती उपचारपछि निको भइ घर फर्केका छन् । चैत ४ गते बेल्जियमबाट फर्कँदा दुवैमा कोरोना भेटिएको थियो । (रासस)

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु