गृहपृष्ठ परीक्षणको दायरा नबढ्दा सर्वसाधारणमा त्रास
परीक्षणको दायरा नबढ्दा सर्वसाधारणमा त्रास
त्रिनगर नाका आइपुगेका नेपालीहरू । (फाइल तस्बिर)
सुदूरपश्चिममा भारतबाट हजाराैं नागरिक भित्रिए पनि कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटको मौज्दात सकिएको छ । प्रदेशमा हाल करिब ४ सय किट मात्रै रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ । एकातिर भारतबाट हुलका हुल नागरिक नेपाल भित्रिनु र अर्कोतिर किट अभाव हुनुले सुदूरपश्चिम निकै जोखिममा बढेको छ ।
सुदूरपश्चिम प्रदेश प्रयोगशालाका अनुसार कोरोनाका सम्भावित बिरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने भीटीएम ७१ वटा र तीन सय १९ वटा र्यापिड किट मात्रै मौज्दात छन् । पहिलो चरणमा देखिएका संक्रमितहरु निको भइसकेको करिब ४० दिनपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण देखिएको पनि किट अभाव भएपछि परीक्षणको दायरा बढाउन नसकिएको हो । भारतबाट दिनहुँ २ हजारभन्दा बढी नागरिक भित्रिरहँदा उनीहरुको सीमा क्षेत्रमै चेकजाँचसमेत हुन सकेको छैन । आइतबार साँझसम्मको तथ्यांकअनुसार प्रदेशभरी ४ हजार ४ सय २१ पीसीआर विधिबाट र २० हजार ७ सय १७ वटा आरडीटी परीक्षण् गरिएको छ । प्रदेशमा परीक्षणको दायरा नबढ्दा जोखिम कायमै त छ न सर्वसाधारणमा त्राससमेत बढेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का नारायण बरालले परीक्षणको दायरा नबढाउँदा जोखिम निकै बढेको बताए । ‘भारतबाट दिनका दिन हजारौँ नागरिक भित्रिरहेका छन् । तर यहाँ किट अभाव हुँदै गएको कुरा सुन्नमा आएको छ,’ बरालले भने, ‘प्रदेश तथा संघीय सरकारले यहाँको जोखिमलाई चासो दिनुपर्छ’ । दिनहुँ भारतबाट भित्रिएका नेपालीहरुको चेकजाँच नभए महामारी फैलिनसक्ने उनको भनाइ छ ।
हालसम्म १० हजार बढी नेपाली कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका छन् । उनीहरुमध्ये करिब ८ सय जनाको मात्र आरडीटी परीक्षण गरिएको थियो । आरडीटीमा पोजेटिभ देखिएका २१ जनामध्ये एकै दिन आएका ५ जनको पीसीआर रिपोर्ट पोजेटिभ आइसकेको छ । त्यसपछि भित्रिएका कसैको पनि परिक्षण हुन सकेको छैन । यस कारणले पनि कोरोना संक्रमणको जोखिम निकै बढेको स्वास्थ्यकर्मी बताउँछन् ।
परीक्षणको दायरा बढाउन नसके आगामी दिनमा झनै खतरा निम्तिने चिकित्सकको भनाइ छ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. हेमराज पाण्डेले जतिसक्दो परीक्षणको दायरा बढाउनुपर्ने बताए ।
केन्द्र सरकारको आसमा बसेको प्रदेश सरकारलाई आवश्यक किट उपलब्ध नभएको प्रदेश सरकारको गुनासो छ । केन्द्रबाट आवश्यकताअनुसार किट उपलब्ध नभएपछि आफैँ खरिद प्रक्रियामा लागेको प्रदेश सरकारले जनाएको छ । प्रदेशमा कोरोना परीक्षणका लागि २० हजार आरडीटी र दुई हजार पीसीआर गरी २२ हजार किट लगायतका अन्य स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अगाडि बढाएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले जानकारी दिए । कोरोना शंकास्पद बिरामीको थ्रोट स्वाबको नमूना संकलनका लागि चाहिने दुई हजार भीटीएम, स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने पीपीई सेट पाँच सय र एक हजार केएन- ९५ मास्क खरिदका लागि जेठ ७ गते बोलपत्र आह्वान गरिएको प्रदेश सरकारले जनाएको छ ।
सम्बन्धित स्थानीय तहकै क्वारेन्टिनमै राखेर बाहिरबाट आएकाहरुको परीक्षण गर्ने प्रदेश सरकारले जनाएको छ । सीमामै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने र कोरोनाको जोखिम कम नहुने हुँदा सम्बन्धित पालिकाको क्वारेन्टाइनमै उनीहरुको स्वाब परीक्षण गर्न लागिएको हो । भारतबाट आएका सबैको कोरोना जाँच गरिने सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको भनाइ छ ।
प्रदेश सरकारले किट खरिद प्रक्रिया थाले पनि भारतबाट आएका सबैको परीक्षण गर्न सो परिमाणको किट अर्पाप्त छ । प्रदेशमा एक सातामा मात्रै १० हजारभन्दा बढी नेपालीहरु भारतबाट नेपाल फर्किसकेका छन् । भारतबाट आएका सबैको परीक्षण गर्न सके संक्रमण रोकिने सर्वसाधारणको भनाइ छ ।
प्रकाशित समय १५:१५ बजे

















