गृहपृष्ठ १० महिनामा सवा १० खर्बको वस्तु आयात, व्यापार घाटा १४ प्रतिशत घट्यो
१० महिनामा सवा १० खर्बको वस्तु आयात, व्यापार घाटा १४ प्रतिशत घट्यो
सुन आयात ठप्प, २ अर्बको पाम आयल निर्यात
चालू आर्थिक वर्ष २०७६/७७ को १० महिनामा सवा १० खर्बको वस्तु आयात भएको छ । भन्सार विभागले मंगलबार जारी गरेको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा १० खर्ब २५ अर्बको वस्तु तथा सेवा आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ७८ करोडको वस्तु तथा सेवा आयात भएको थियो ।
१० महिनामा ८२ अर्बको वस्तु तथा सेवा निर्यात भएको छ । यो निर्यात गत आवको तुलनामा ४.५ प्रतिशत धेरै हो । गत आवको वैशाखसम्ममा ७८ अर्बको वस्तु निर्यात भएको विभागले जनाएको छ ।
त्यस्तै गत आवको तुलनामा चालू आवमा व्यापार घाटा १४.२४ प्रतिशतले कम भएको छ । गत वर्ष १० खर्ब ९९ अर्बको व्यापार घाटा व्यहोरेको नेपालले यो अवधिमा ९ खर्ब ४३ अर्ब व्यापार घाटा व्यहोरेको छ ।
नेपालको बाह्य व्यापार ११.८९ प्रतिशत घटेको छ । आयातको तुलनामा निर्यात बढाउन नसक्दा बाह्य व्यापार कमजोर बन्दै गएको हो । गत वर्षको १० महिनामा नेपालको बाह्य व्यापार १२ खर्ब ५६ अर्ब रुपैयाँबराबरको थियो भने यो वर्षको सोही अवधिमा ११ खर्ब ७ अर्बमा झरेको छ ।
१० महिनामा नेपालले भारतबाट ६ खर्ब २८ अर्बको सामान आयात गरेको छ भने ५८ अर्ब ४१ करोडको मात्र निर्यात गरेको छ । तथ्यांकअनुसार भारतसँग नेपालको यो अवधिको व्यापार घाटा ५ खर्ब ७० अर्ब रूपैयाँबराबर छ । त्यस्तै समीक्षा अवधिमा नेपालले चीनबाट १ खर्ब ५६ अर्बको वस्तु तथा सेवा आयात गरेको छ भने १ अर्ब ९ करोडको निर्यात गरेको छ । नेपालको चीनसँगको व्यापार घाटा १ खर्ब ५५ अर्ब रुपैयाँबराबर रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सुन आयात ठप्प
वैशाख महिनामा सुन आयात ठप्प भएको छ । चैतसम्म १३ अर्ब ४६ करोड रुपैयाँबराबरको २ हजार ४०० किलो सुन (गरगहनाबाहेक) आयात भएकोमा वैशाख महिनामा शून्य परिमाणमा सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
चैतसम्म युनाइटेड अरब इमिरेट्स (युएई)बाट १ हजार ६५०, टर्कीबाट ६५० र स्विट्जरल्यान्डबाट १०० किलो सुन आयात भएको थियो ।
चालू आर्थिक वर्ष सुन व्यवसायीका लागि निकै प्रतिकूल रह्यो । उच्च मूल्य वृद्धिका कारण साउनदेखि भदौसम्म करिब शून्य परिमाणमा सुन आयात भएको थियो । कात्तिक लागेपछि केही मात्रामा आयात हुन थालेको सुनको आयात चैत ११ गतेको लकडाउनसँगै ठप्प भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको १० महिनामा २९ अर्ब ४ करोड रूपैयाँबराबरको ६ हजार ३४१ किलो सुन आयात भएको छ । चालू आवको सोही अवधिको तुलनामा यो करिब ३ हजार किलो कम हो ।
चैतमा पनि जम्मा डेढ सय किलो सुन आयात भएको थियो । चैतमा युएईबाट सय किलो र टर्कीबाट ५० किलो सुन भित्रिएको हो । लकडाउन भएपछि चैतमा कति पनि सुन आयात भएको छैन ।
२ अर्बको पाम आयल निर्यात
वैशाखमा दुई अर्बको प्रशोधित पाम आयल निर्यात भएको छ । भारत सरकारले स्थानीय उद्योगको प्रवर्धनार्थ प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाए पनि चैतमा नेपालबाट करिब २ अर्ब रुपैयाँबराबरको १ करोड २२ लाख लिटर प्रशोधित पाम आयल निकासी भएको हो ।
प्रशोधित अलैंची निर्यात बढ्यो
गत आर्थिक वर्षको १० महिनामा २ अर्ब २३ करोड रूपैयाँको २७ लाख किलो कच्चा अलैंची निर्यात भएकोमा चालू आवको सोही अवधिमा १ अर्ब ८६ करोड रुपैयाँबराबरको २३ लाख २७ हजार किलो अलैंची निकासी भएको छ । त्यस्तै, समीक्षा अवधिमा गत वर्ष १ अर्ब ३२ करोड रुपैयाँबराबरको १६ लाख ४७ हजार किलो प्रशोधित अलैंची निकासी भएकोमा चालू आवमा १ अर्ब ४७ करोड रुपैयाँबराबरको १८ लाख ३४ हजार किलो प्रशोधित अलैंची निर्यात भएको विभागले जनाएको छ ।
त्यस्तै वैशाखसम्ममा ३३ करोड ५६ लाख रूपैयाँबराबरको अदुवा निर्यात भएको छ । वैशाखसम्ममा २० करोड १६ लाखको काँचो अदुवा, ९ करोड ९१ लाखको सुठो र ३ करोड ४८ लाखको प्रशोधित अदुवा निर्यात भएको हो ।
प्रकाशित समय १६:०० बजे

















