गृहपृष्ठ संक्रमितको संख्या दिनहुँ बढ्दै, परीक्षण सुस्त
संक्रमितको संख्या दिनहुँ बढ्दै, परीक्षण सुस्त
असार लागेयता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । निकै सुस्त गतिमा परीक्षण भइरहेको सुदूरपश्चिममा पछिल्लोसमय परीक्षणका लागि स्वाबको नमुना काठमाडौं पठाउन थालेपछि संक्रमितको संख्या बढेको हो ।
सुदूरपश्चिममा जेठ महिनाको अन्त्यसम्म २ सय ४८ जना कोरोना संक्रमित रहेकोमा असार महिनाका ६ दिनमा मात्रै ६ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ३३ जनाको कोरोना पोजेटिभ प्रदेशबाहिर गरिएको परीक्षणबाट पुष्टि भएको हो । १ सय ५२ जनाको धनगढीमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । जसमा असार महिनाको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३१ जना, ४ गते २ सय ३८ जना, ५ गते १ सय ६८ जना र ६ गते १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको शनिबार साँझ सम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितको संख्या ९ सय ४८ पुगेको छ ।
तीन महिनामा एक सय २८ जना डिस्चार्ज
सुदूरपश्चिममा पहिलो संक्रमण फेला परेको झण्डै तीन महिनामा एक सय २८ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार कैलालीका ४४, डोटीबाट ३०, कञ्चनपुरबाट १८, दार्चुलाबाट १२, अछामबाट ९, डडेल्धुराबाट ८, बैतडीबाट ६ र बझाङबाट एक जना संक्रमितलाई डिस्चार्ज गरीएको कार्कीले बताए ।
सुदूरपश्चिममा कोरोना पुष्टि भएका चार जनाको मृत्यु भइसकेको छ । पाँच सय २७ जना संक्रमित भने विभिन्न क्वारेन्टिन र घरमै रहेका छन् । डिस्चार्ज गरिएका एक सय २४ जनामध्ये पनि अधिकांशले कोरोना जित्न सकेका छैनन् । उनीहरुमा लक्षण नदेखिएको भन्दै अस्पतालहरुले डिस्चार्ज गरेका हुन् । यसैबीच, महाकाली अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना संक्रमित शनिबार निको भएर गर फर्केका छन् । महाकाली अस्पतालका अनुसार डिस्चार्ज हुनेमा लालझाडी गाउँपालिकाकी २ महिला र महाकाली नगरपालिकाका २ पुरुष रहेका छन् । दुई हप्तासम्म उनीहरुको अवस्था सामान्य हुनुका साथै कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको डा. सरोज आचार्यले बताए ।
परीक्षण सुस्त
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना परीक्षणका लागि संकलन गरिएको चार हजार सात सय बढीको थ्रोट स्वाबको नमुना परीक्षण हुन अझै बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर संकलन गरिएका चार हजार सात सय ५९ जनाको नमुना परीक्षण गर्न बाँकी छ । तीन हजार ४७ जनाको नमुना धनगढी प्रयोगशालामा र एक हजार सात सय १२ जनाको काठमाडौं प्रयोगशालामा परीक्षण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. नरेन्द्र कार्कीले भीटीएमसहित अन्य स्वास्थ्य सामग्री धनगढी पुगेको जनाएका छन् । अस्पताललाई भने आइतबार मात्रै भीटीएम उपलब्ध गराइने उनले बताए । कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा आवश्यक पर्ने भीटीएम नहुँदा पाँच दिनसम्म नमूना संकलन रोकिएको थियो । कोरोनको उच्च जोखिम रहेको भारतबाट १ महिनाको अवधिमा करिब डेढ लाख बढी नागरिक सुदूरपश्चिम भित्रिएका छन् । प्रदेशभर निर्माण गरिएका १ हजार ९ सय ९७ क्वारेन्टिनमा ३७ हजार २ सय ५ जनालाई छन् । हालसम्म आइसोलेसन बेडकै भरमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।
आईसीयू अभाव
सुदूरपश्चिमा कैलालीबाहेक अन्य जिल्लामा गम्भीर खालका बिरामीका लागि आवश्यक पर्ने आईसीयू र भेन्टिलेटरको सुविधा छैन । हालसम्म आइसोलेसन बेडकै भरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आएकालाई महाकाली अस्पताल वा सेती प्रादेशिक अस्पतालमा पठाउनुको विकल्प छैन ।
भारतबाट नेपाली आउने क्रम बढेसँगै हरेक पालिकाहरुमा क्वारेन्टिनको व्यवस्था गरिएको छ । क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्यमा समस्या देखिएमा कोरोना परिक्षण गर्ने गरिन्छ । परीक्षणमा कोरोना पुष्टि भएमा आइसोलेसनमा राखेर उपचार गरिन्छ । आइसोलेसनहरु भरिन थालेपछि कतिपय कोरोना संक्रमितहरुलाई घरमै आाइसोलेसनमा राख्ने गरिएको छ ।
सेती प्रादेशिक अस्पतालमा थप ५ आईसीयू बेड निर्माण गरिएको छ भने महाकाली अस्पतालमा थप दुई बेड निर्माण भएका छन् । कोरोना महामारीअघि सेती प्रादेशिक अस्पतालमा ५ बेड र महाकाली अस्पतालमा तीन बेड मात्रै आईसीयू कक्ष थिए । अन्य अस्पतालमा भने आईसीयू बेड उपलब्ध थिएन । कोरोनाको संक्रमण भएको तीन महिना पुग्न लागिसक्दा पनि अझै उपलब्ध छैनन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा जम्मा ८ वटा भेन्टिलेटर छन् ।
यस्तै आईसीयू बेडको संख्या १४ मात्रै छ । हाल प्रदेशमा उपलब्ध् स्वास्थ्य उपकरणहरुले कोरोना संक्रमितहरुको उपचार गर्न गाह्रो भएको स्वीकार्छन् । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणाकर अवस्थीले तत्कालै भेन्टिलेटर र आईसीयू बेडको संख्या थप गरी कोरोनाको उपचारमा सहजता ल्याउने योजना रहेको बताए । ‘प्रदेश सरकारले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरेको छ । हामीले त्यसको प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।
प्रकाशित समय १९:०२ बजे
















