गृहपृष्ठ पीसीआर परीक्षणको नयाँ मापदण्ड: झाडापखालाका बिरामीको पनि कोरोना परीक्षण गरिने
पीसीआर परीक्षणको नयाँ मापदण्ड: झाडापखालाका बिरामीको पनि कोरोना परीक्षण गरिने
लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि १० वटा मापदण्ड सहितकाे तेस्रो संशोधन निर्देशिका जारी गरेको छ । अब, झाडापखाला लागेका बिरामीमा पनि कोरोना संक्रमण भए/नभएको परीक्षण गरिने भएको छ ।
काेराेना संक्रमण समुदायस्तरमै फैलिएकाे आशंका बढिरहँदा मन्त्रालयले पीसीआर परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी गरेको हो । पछिल्लो निर्देशिकाअनुसार ज्वरो, कफ, श्वासप्रश्वासका समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने मन्त्रालयले जनाएको छ । नेपाल बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिने निर्देशिकामा उल्लेख छ ।
कोराेना परीक्षणका लागि पीसीआर तथा एन्टीजेनमा आधारित द्रुत परीक्षण र निगरानी तथा खोजीको उद्देश्यका लागि सेरोलोजी परीक्षण विधि अपनाइनेछ ।
यस्तो छ पीसीआर परीक्षणको मापदण्ड:
१) ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला सहितको लक्षण देखिएका सबै बिरामी ।
२) संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसहरू ।
३) गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीहरू ।
४) विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच-सात दिनभित्र) ।
५) अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू ।
६) विगत १४ दिनमा कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरू ।
७) आइसीयूमा रहेका सबै बिरामीहरू ।
८) दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भइसकेकाहरू (विशेषतः ६० वर्ष उमेर पार गरेकाहरू) ।
९) चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू (आपतकालीन उपचार तथा शल्यक्रियाका लागि भने परीक्षण रिपोर्ट कुर्नु नपर्ने) ।
१०) चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोभिड- १९ बिरामीको डिस्चार्जका लागि, तर लक्षणहीन तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न (कम्तीमा तीन दिन लक्षणहीन रहेको अवस्थामा) परीक्षण रिपोर्ट नचाहिने ।
प्रकाशित समय १४:०६ बजे

















