गृहपृष्ठ कोभिड-१९ ले नेपालको पर्यटनमा २४ अर्बको क्षति
कोभिड-१९ ले नेपालको पर्यटनमा २४ अर्बको क्षति
विश्वव्यापी स्वास्थ्य संकट कोभिड-१९ महामारीका कारण अप्रिलदेखि मेसम्मको अवधिमा पर्यटक आगमन औसत ४९ प्रतिशतले घटेको संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले जनाएको छ ।
मे र जुन महिनामा पर्यटक आगमनमा भएको सत प्रतिशत कमीलाई जोड्दा सन् २००० को पहिलो ६ महिनामा नेपालमा औसत ५५ प्रतिशत पर्यटक आगमन घटेको छ । यसले नेपालको पर्यटन आय र त्यससँग जोडिएका सम्पूर्ण आर्थिक क्रियाकलापको चक्रमा गम्भीर नोक्सानी पुर्याएको छ ।
सन् २०१९ मा नेपालले पर्यटन क्षेत्रबाट ७० करोड १० लाख अमेरिकी डलरको आम्दानी गरेकोमा सन् २०२० मा कुल पर्यटन आयमा झन्डै २८ प्रतिशतले कमी आएको यूएनडब्लूटीओले सार्वजनिक गरेको ‘वर्ल्ड टुरिजम ब्यारोमिटर’मा उल्लेख छ ।
यद्यपि, नेपाल सरकारको तथ्यांकअनुसार सन् २०१९ मा नेपालले पर्यटन क्षेत्रबाट ७२ करोड ४३ लाख अमेरिकी डलरको आम्दानी गरेको थियो । यसलाई आधार बनाएर रकममा हेर्दा नेपालको पर्यटन क्षेत्रले पहिलो ५ महिनामा २० करोड अमेरिकी डलर अर्थात करिब २४ अर्ब रूपैयाँबराबरको आय गुमाएको देखिन्छ ।
नेपालका पर्यटन व्यवसायीहरूले भने कोभिड-१९ महामारीका कारण नेपालको पर्यटन उद्योगमा एक खर्ब रूपैयाँको क्षति पुगेको बताउने गरेका छन् ।
नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपालका रूपमा मनाउने घोषणा गरेको र यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । यो लक्ष्यका आधार मान्दा कोभिड-१९ का संक्रमण नफैलियोस् भनेर अबलम्बन गरिएको यात्रा प्रतिबन्धका कारण पहिलो ६ महिनामा १० लाख पर्यटक नेपाल आउनबाट बञ्चित भए ।
गत वर्षकै अनुपातमा हेर्दा पनि यो ६ महिनामा ६ लाखभन्दा बढी पर्यटक कोभिड-१९ का कारण नेपाल आउन सकेनन् ।
यूएनडब्लूटीओका अनुसार कोभिड-१९ का कारण सन् २०२० को पहिलो ५ महिनाको अवधिमा विश्वव्यापी पर्यटन उद्योगले ३ खर्ब २० अर्ब अमेरिकी डलरको आय गुमाएको छ ।
वर्ल्ड टुरिजम ब्यारोमिटरका अनुसार यो पाँच महिनाको अवधिमा विश्वव्यापी पर्यटन आवागनमा औसत ५६ प्रतिशत कमी आउँदा सबैभन्दा बढी एसिया-प्रशान्त क्षेत्रमा ६० प्रतिशतले पर्यटक कमी आयो ।
दक्षिण एसियामा औसत ४७ प्रतिशतले पर्यटक कमी हुँदा नेपाल, श्रीलंका र माल्दिभ्समा औसत ५० प्रतिशतले पर्यटक कमी आएको ब्यारोमिटरमा उल्लेख छ ।
मे महिनामा विश्वव्यापी हवाई उड्डनमा आधारित यात्रुको ९८ प्रतिशतले गिरावट आउँदा नेपालसहितका देशमा सतप्रतिशतले कमी आएको ब्यारोमिटरमा उल्लेख छ ।
नेपालमा हाल १५ वटा पाँच तारे होटलसहित १३८ तारे होटल र १ हजार १५१ वटा पर्यटकस्तरीय होटल सञ्चालनमा रहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । होटल एसोसियसन अफ नेपाल (हान)का अनुसार हाल तारे र पर्यटकस्तरीय होटलहरूमा मात्र करिब ७ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस्तै, ३ हजार ६८० ट्राभल एजेन्सी, २ हजार ७६४ ट्रेकिङ एजेन्सी सञ्चालनमा छन् भने देशभरि ४ हजार २०० जना ट्राभल तथा १७ हजार ६२६ जना ट्रेकिङ गाइड छन् । एक जनाले पर्वतारोहण गर्दा १२ जना शेर्पा, आरोहण सहयोगी र सरदारहरूले रोजगारी पाउने गरेको आँकडा छ ।
केन्द्रीय तथ्यांक विभागले हालै सम्पन्न गरेको राष्ट्रिय आर्थिक सर्वेक्षण-२०१८ अनुसार देशभरि १ लाख ३० हजार ५४० वटा होटल तथा रेष्टुराँ सञ्चालनमा छन्, जसमा ३ लाख ४६ हजार जना संलग्न छन् । यो कुल औद्योगिक-व्यावसायिक रोजगारीको १०.७ हो ।
वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लूटीटीसी)ले भने नेपालको पर्यटन क्षेत्रमा १० लाख ३४ हजारले रोजगारी पाएको उल्लेख गरेको छ । विगत पाँच महिनादेखि कोभिड-१९ महामारीका कारण यात्रा प्रतिबन्ध लगाइएपछि पर्यटन क्षेत्रका यी व्यवसायी तथा रोजगारीप्राप्त व्यक्तिहरू संकटमा परेका छन् ।
प्रकाशित समय १५:०० बजे

















