गृहपृष्ठ कुरा . . .
कुरा . . .
कीरा . . .
कहाँ पर्दोरहेछ र गिदीमा . . . !
कुरा . ..
पस्दो रहेछ, बरु सुटुकै . . ।
अनि
फैलँदो रहेछ, औंसाजस्तै
गिदीभरि ! टाउकोभरि ! शरीरभरि !
कुराले . . . शब्दहरू थुतेर लाँदोरहेछ।
कुराले . . . कानहरू थुनिदिँदो रहेछ।
कुराले . . . आँखाहरू छोपिदिँदो रहेछ ।
अनि
भर्दो रहेछ, बारूद
खोक्रो भएको गिदीभरि । टाउकोभरि ।
कुनै विशाल रूखलाई खाएजस्तै कीराले !
भित्र-भित्रै खोक्रो पार्दोरहेछ
कुराले !
अनि
पहेंलो अनुहार बोकेर, उभिन्छ
यो
भिडहरूको अघि
सयौं कीराजस्तै कुराहरू
सल्बलाइरहन्छ उसको छातीमा
न . . सञ्चोले निदाउन सक्छ !
न . . सञ्चोले बाँच्न सक्छ !!
एक दिन
टम्म बारुदले भरिएको बम भएर पडकन्छ
आफैँलाई टुक्रा-टुक्रा पार्छ
हो . .
त्यही समय ।
उता कुरा भने
दीपावली मनाइरहेको हुन्छ
शुभेच्छा र शुभकामना थापिरहेको हुन्छ
कुराले खोक्रो पारिसकेको त्यो शरीर
वृक्षजस्तै लड्छ एक दिन
उता
कुरा भने
उसको लासमाथि, नयाँ घर बनाउन
प्लान गरिरहेको हुन्छ . . . ।
कीरा . . .
किन पर्नु पर्यो र गिदीमा !
कुरा पर्यो, भइगो त . . . ।
प्रकाशित समय १६:०० बजे

















