गृहपृष्ठ रूस बन्यो कोभिड- १९ खोपलाई स्वीकृति दिने पहिलो देश
रूस बन्यो कोभिड- १९ खोपलाई स्वीकृति दिने पहिलो देश
खोप सुरक्षित र प्रभावकारी साबित भएको दावी
फाइल तस्बिर ।
संसारमा सबैभन्दा पहिले कोभिड- १९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ । यद्यपि खोपबारे विश्व स्वास्थ्य संगठनको आधिकारिक धारणा आइसकेको छैन ।
संसारमा कोभिड- १९ संक्रमण विरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको रूसी राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा बताएका छन् । ‘मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधिको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,’ उनले भने । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड- १९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिएका छन् । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उनले बताए ।
आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गरे । ‘मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो,’ उनले भनेका छन् ।
जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड- १९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो । (रासस)
प्रकाशित समय १९:०९ बजे

















