गृहपृष्ठ नेपालमा पाँच दिनमा २२ सय संक्रमित थपिए, २० जनाको मृत्यु

नेपालमा पाँच दिनमा २२ सय संक्रमित थपिए, २० जनाको मृत्यु

नोवेल कोरोनाभाइरस (कोभिड १९) बाट नेपालमा पाँच दिनमै २२ सय मानिस संक्रमित भएका छन् भने २० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारदेखि बुधबारसम्म दुई हजार २१८ जना संक्रमित थपिएका हुन् ।

शनिबार ३७८, आइतबार ३८०, सोमबार ३३८, मंगलबार ६३८ र बुधबार ४८४ नयाँ संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पाँच दिनमै २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । शनिबार ३, आइतबार २, सोमबार ४, मंगलबार ३ र बुधबार ८ जनाको ज्यान गएको हो । हालसम्म पर्सामा सबैभन्दा धेरै १९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै काठमाडौं र धनुषामा ८/८ र मोरङमा ६ जनाको कोरोनाबाट ज्यान गएको छ । यो अवधिमा ९१४ जना कोरोनामुक्त भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म २४ हजार ४३२ जना संक्रमित फेला परेका छन् भने १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । यो कुल संक्रमितको ६८.४७ प्रतिशत हो । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म रौतहटमा सबैभन्दा धेरै १ हजार ६१७, कैलालीमा १ हजार २८०, पर्सामा १ हजार २१८, काठमाडौंमा १ हजार १६६ र महोत्तरीमा ९८५ संक्रमित भेटिएका छन् ।

त्यस्तै हालसम्म कोरोनाबाट ९१ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयको तथ्यांकअनुसार यो ०.५४ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ । मन्त्रालयका अनुसार देशभर हाल १४ हजार ८४६ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु