गृहपृष्ठ आइसोलेशन निर्माणका लागि स्थानीय तह र अस्पताललाई १ करोड ६० लाख बजेट
आइसोलेशन निर्माणका लागि स्थानीय तह र अस्पताललाई १ करोड ६० लाख बजेट
प्रदेश १ सरकारले कोरोनाभाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो ।
स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिनअगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सीसीएमसी बैठकले निर्णय गरेको थियो ।
प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ । रंगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका- १ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।
त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ ।
कोभिड- १९ आइसोलेसन अस्पताल गोठगाउँ, मोरङलाई २० लाख, कोभिड- १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापन र सञ्चालनका लागि पाँच/पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।
प्रकाशित समय १६:४६ बजे
















