गृहपृष्ठ पर्सागढीका मेयरको कोरोना रिपोर्ट : वीरगञ्जमा नेगेटिभ, काठमाडौंमा पोजेटिभ

पर्सागढीका मेयरको कोरोना रिपोर्ट : वीरगञ्जमा नेगेटिभ, काठमाडौंमा पोजेटिभ

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादव कोरोना संक्रमित भएका छन् । सोमबारदेखि काठमाडौँमा उपचाररत मेयर यादवमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि मेयर यादवलाई सोमबार वीरगञ्जबाट हेलिकप्टरमार्फत काठमाडौँ लागिएको थियो । मेयर यादवको यसअघि वीरगञ्जमा दुईपटक कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट  आएको थियो ।

मेयर यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले काठमाडौँको मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए । उनी हाल काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचाररत छन् ।

केही दिनदेखि सामान्य ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मेयर यादव वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना भएका थिए । तराई हस्पिटलमा परीक्षणको क्रममा उनलाई गम्भीर किसिमको निमोनिया देखिएको हस्पिटलका निर्देशक डा. रोशन कुर्मीले बताए ।

तराई हस्पिटलमै अक्सिजन सपोर्टमा रहेका मेयर यादवलाई वीरगञ्जमा भइरहेको उपचार सन्तोषजनक नलागेपछि उनि हेलिकप्टर चार्टर गरेर काठमाडौँ पुगेको उनका स्वकीय सचिव आकाश साहले जानकारी दिए । मेयर यादवले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आउँदा सकारात्मक आत्माबल बढेको बताएका छन् । उनले छिट्टै कोरोनालाई पराजित गर्दै जनताको सेवामा पुन: फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।

‘अहिलेको स्वास्थ्य अवस्था दैनिक सुध्रिँदै छ । क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकरात्मक आत्मबल बढेको छ । मलाई आशा छ तपाईंहरुको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाँडै कोरोनाभाइरसलाई पराजित गरी पुन: तपाईंहरुकै सेवामा हाजिर हुनेछु । मेरो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखका छन् ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु