गृहपृष्ठ संक्रमितको घट्दो तथ्यांक, बढ्दो जोखिम
संक्रमितको घट्दो तथ्यांक, बढ्दो जोखिम
स्वाब संकलन गरिँदै (फाइल तस्बिर) ।
कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड- १९)को जोखिम बढ्दै गए पनि संक्रमितको तथ्यांक भने घट्दो क्रममा देखिएको छ । गत जेठ १ देखि ३२ गतेसम्म प्रदेशभर १५ हजार ६ सय ७० जनामा गरिएको आरटी-पीसीआर परीक्षणमा ९ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै असार १ देखि ३१ गतेसम्म ३५ हजार १ सय ६४ जनामा गरिएको कोरोना परीक्षणमा ७ सय ५७ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार साउन महिनाको ३१ गतेसम्म ४७ हजार ४ जनामा गरिएको परीक्षणमा ३ सय ५१ जनामा कोरोनाको पुष्टि भएको हो । पछिल्लोसमय कोरोनाभाइरसको जोखिम उच्च भए पनि संक्रमितको तथ्यांक भने घट्दो क्रममा रहेको छ । प्रत्येक महिना कोरोनाभाइरस जाँच गराउनेको संख्यासमेत बढेको भए पनि संक्रमणको दर भने घटेको तथ्यांकले देखाएको हो ।
कर्णाली प्रदेशभर चार जिल्लामा कोरोनाभाइरस (कोभिड- १९) परीक्षणका लागि मेसिनहरु राखिएको छ । सुर्खेत, दैलेख, जुम्ला र रुकुमपश्चिममा कोरोना परीक्षणका लागि मेसिनहरु राखिएको र क्वारेन्टिनमा मात्रै सीमित परीक्षणलाई समुदाय स्तरमा समेत लगिएको छ । तर पनि कोरोना संक्रमितको संख्या भने प्रत्येक महिना घट्दै गएको देखिन्छ ।
एकातिर कर्णालीमा कोरोनाबाट संक्रमितहरुको संख्या घटेको छ भने अर्कोतिर जोखिम उच्च भएको भन्दै कर्णालीका विभिन्न जिल्ला तथा स्थानीय तहहरु सिल गरिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले लकडाउन खुकुलो भएयता कोरोनाभाइरसको जोखिम उच्च भएको बताए ।
‘पछिल्लो समय तथ्यांकमा संक्रमितहरुको संख्या घटे पनि जोखिम भने उच्च छ,’ उनले भने, ‘चाडपर्वहरु नजिकिदै गर्दा संक्रमणको जोखिम भने उच्च रहेको हो ।’ कोरोनाभाइरस मानिसका आनीबानीका कारण सर्ने भएकोले पनि चाडपर्व नजिकिदै गर्दा जोखिम बढेको कँडेलले तर्क गरे । उनका अनुसार प्रत्येक महिना परीक्षणको दायरा दुईगुणाले बढेको छ तर पनि संक्रमितको संख्या भने प्रत्येक महिना घटेको पाइन्छ ।
लकडाउन खुकुलो भएसँगै सहरी क्षेत्रमा भिडभाड निकै बढेको छ । भाइरसको उच्च जोखिम बढेको भन्दै सुर्खेत लगायतका केही जिल्लामा प्रशासनले सार्वजनिक कार्यालयहरु समेत बन्द गरेको छ । कोरोनाको रेडजोनको रुपमा रहेको दैलेख जिल्लामा पहिलेको तुलनामा संक्रमण कम देखिए पनि राजधानी सुर्खेत वीरेन्द्रनगरमा भने जोखिम बढेको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा संक्रमणको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश सरकारले समेत जोखिम बढेको भन्दै कर्णाली भित्रिने विभिन्न नाकाहरुका कडाई गर्नुका साथै आरटी-पीसीआरको रिपोर्ट अनिवार्य देखाउनुपर्ने गरी निर्णय गरेको छ । त्यस्तै यो अवधिमा भिडभाड, भेला, बैठक लगायतका कुनै पनि क्रियाकलाप नगर्न नागरिकहरुलाई आग्रहसमेत गरेको छ । यसरी सरकारले संक्रमणको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाए पनि नागरिकहरु भिडभाड गर्न भने छाडेका छैनन् ।
प्रकाशित समय १३:५८ बजे
















