गृहपृष्ठ कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाका लागि ज्ञापनपत्र

कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाका लागि ज्ञापनपत्र

कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाको लागि सामाजिक विकासमन्त्री दल रावललाई ज्ञापनपत्र बुझाइएको छ । स्वास्थ्य प्रवर्धन  तथा शिक्षा संघ नेपालले बिहीबार मन्त्री रावललाई तालिम केन्द्र पुनःस्थापनाका लागि ज्ञापनपत्र बुझाएको संघका केन्द्रीय सचिव नवराज कँडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६ भदौ ५ गते कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषदको निर्णयबाट स्वास्थ्य सेवा प्रदेशस्तरको स्वास्थ्य तालिम केन्द्रलाई अन्य सेवाको तालिम केन्द्रहरुसँग एकीकृत गरी मानव संसाधन विकास केन्द्र बनाएको र दरबन्दीसमेत कटौती गरेकाले तालिम केन्द्र पुनःस्थापनाका लागि मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । ‘सरकारको निर्णयले हाम्रो वृत्ति विकासमा कुठाराघात हुन गएको छ,’ उनले भने, ‘केही कार्यालयहरुलाई पुनःस्थापनाका लागि मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि तालिम केन्द्रका लागि सरकार मौन छ ।’

उनले चालू आव २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रममा सोही निर्णयबाट प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा खरिद तथा आपूर्ति शाखा र जनस्वास्थ्य प्रयोगशाला शाखाको रुपमा गाभिएका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पुनःस्थापना गर्न सामाजिक विकास मन्त्रालयले पहल चाले पनि तालिम केन्द्रको बारेमा केही नसोचेको बताए ।

प्रदेश सरकारको यस कार्यले चिकित्सा क्षेत्रमा गुणस्तरीय तालिम व्यवस्थापनलाई उपेक्षा गरिएको र कोभिड–१९ को महामारीमा आइसियु र भेन्टिलेटर चलाउन सक्ने तालिम प्राप्त जनशक्तिको अभाव भएको उनले तर्क गरे । नेपालको संविधानको धारा १८ मा व्यवस्था भएको समानताको हकलाई मात्रै कुण्ठित नबनाएको भन्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमार्फत जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई समेत संकुचित बनाएको आरोप लगाए । स्वास्थ्य तालिम केन्द्रको पुनःस्थापनामा सरकारले तत्काल ध्यान दिनुपर्ने संघले बताएको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु