गृहपृष्ठ चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु

चितवनमा १३ जिल्लाका ११६ संक्रमितको मृत्यु

मृतकको अन्तेष्ठि गरिँदै । (फाइल तस्बिर)

चितवनमा हालसम्म ११६ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना चितवनकै बासिन्दा हुन् भने अन्य १२ जिल्लाका हुन् ।

जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत संक्रमित उपचार गराउन आउने गर्छन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १०७ शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको छ ।

गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का छन् । उक्त जिल्लाका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक-एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो । चितवनमा हालसम्म पाँच हजार ९२३ संक्रमित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले छिमेकी जिल्लाका संक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु संख्या बढी हुन आएको बताएका छन् । संघीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले संक्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उनले बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी संक्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु संख्या बढी भएको बताउँछन् । काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनले जानकारी दिए ।

जिल्लाका अस्पतालहरुले ठूलो संख्यामा संक्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारीले बताए । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुको बीचमा भएको समन्वयका कारण सहज बनेको समेत उनले जनाए । (रासस)

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु