गृहपृष्ठ बाँकेमा उपचाररत ३० संक्रमित सिकिस्त

बाँकेमा उपचाररत ३० संक्रमित सिकिस्त

फाइल तस्बिर ।

कोरोना संक्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना संक्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना छन् ।

भेरीमा ९ र कोहलपुरमा १२ गरी अस्पतालमा २१ सामान्य बिरामी उपचाररत छन् । बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका संक्रमितको दैनिकजसो मृत्यु भइरहेको छ । लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । कोरोना संक्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्दछन् ।

बाँकेका विभिन्न स्थानीय तहमा १९१ कोरोना संक्रमित छन् । उनीहरु होम आइसोलेशनमा बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेशनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म कोरोनाका कारण १३ महिला र २१ पुरुष गरी ३४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन् । (रासस)

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु