गृहपृष्ठ उद्योग वाणिज्य महासंघमा बढ्यो चुनावी सरगर्मी : कसले मार्ला बाजी ?

उद्योग वाणिज्य महासंघमा बढ्यो चुनावी सरगर्मी : कसले मार्ला बाजी ?

प्रधानको पक्षमा 'प्रेसिडेन्ट इन् वेटिङ' गोल्छा किन ?

कोभिड-१९ महामारीका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा मंसिर ११, १२ र १३ गते हुने भएको छ । महासंघको विधानअनुसार साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत: अध्यक्ष चुनिनेछन् । चुनावका लागि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म मनोनयन पत्र दाखिला गर्नुपर्नेछ । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात मंसिर ४ गतेभित्र महासंघमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

महासंघको तेस्रो वरीयतामा रहेका उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान वरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा होमिएका छन् । यद्यपि दुवै उम्मेदवारबीच सहमति कायम गराउने प्रयास पनि थालिएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी लहर पनि तात्दै गएको छ । साधारण सभामा देशभरबाट आउने महासंघका प्रतिनिधिसँगको लविङमा उम्मेदवारहरू देश दौडाहामा छन् ।

अहिले उद्यमी-व्यवसायीहरूबीच चियापसलदेखि चोक-चोकमा चुनावी प्रचार भइरहेको छ । महासंघको केन्द्रीय समिति बैठकले मंसिर दोस्रो हप्तालाई चुनावी मिति तोकेपछि उम्मेदवार आफ्ना मत सुरक्षित गर्न मतदाता केन्द्रित भएका छन् । निजी क्षेत्रको छाता संगठन महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधान दुवैजना कार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्म पुगेका हुन् ।

विधानअनुसार एसोसिएट, वस्तुगत, जिल्ला तथा नगर र राष्ट्रिय तर्फबाट गरी जम्मा ७८ जना निर्वाचित हुनेछन् । एसोसिएट्सबाट १९, जिल्ला तथा नगरबाट १८, वस्तुगतबाट १४, राष्ट्रियबाट एक, संस्थापक सदस्यबाट एक र सबै प्रदेशबाट ७ जना निर्वाचित हुने महासंघका नायब निर्देशक केदारराज जोशीले जानकारी दिए । जोशीका अनुसार हालसम्म एसोसिएटतर्फ ९६१ जना, जिल्ला तथा नगरतर्फ ११३ जना, वस्तुगततर्फ १०३ जना, राष्ट्रियतर्फ १२ जना छन्, तीमध्ये जतिले सदस्यता नवीकरण गर्छन्, तिनीहरुले मात्र चुनावमा मतदान गर्न पाउँछन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईले उम्मेदवारी घोषणा गरेका छन् भने प्रधान प्यानलबाट जिल्ला/नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र वस्तुगतको उपाध्यक्षमा अन्जन श्रेष्ठ चुनावी मैदानमा छन् ।

ढकाल प्यानलबाट महासंघको कार्यकारिणी सदस्यहरूमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गराएका छन् । त्यस्तै प्रधान समूहको कार्यकारिणी सदस्यहरूमा अरुण सुमार्गी, अशोक अमात्य, तारानाथ घिमिरे, उमेश घिमिरे, रामेश्वर मानन्धर,  अशोक ताम्राकार, गजेन्द्र भगत, गोपाल केडिया, देवकुमार श्रेष्ठ र मंगलसिंह ठगुन्नाले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै एसोसिएटको कार्यकारी सदस्यमा विजयसिंह वैद्य, रन्जित आचार्य,  कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनिलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रबलजंग पाण्डे,  सन्दीप गाडिया, हेमन्त गोल्छा, शक्ति बेगानी, उदीप श्रेष्ठ चुनावी मैदानमा छन् ।

वस्तुगततर्फको कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, विप्लवमान सिंह, विष्णु गैह्रे, दीपक दाहाल, गोविन्द ढुंगेल, माधवलाल श्रेष्ठ, महेशलाल प्रधान, मीनमान श्रेष्ठ, रामबहादुर श्रेष्ठ, शकुन्तलाल हिराचन, सन्दीप अग्रवाल, सारदा रिजाल, शिवप्रसाद घिमिरे, सुनिलगोपाल श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् । ढकाल समूहले भने वस्तुगत, एसोसिएट र जिल्ला/नगरका सदस्य सार्वजनिक गरेका छैनन् ।

उम्मेदवारहरूले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवर्धन गर्न आफ्नो नेतृत्वको समूहको जित सुनिश्चित रहेको बताएका छन् । त्यस्तै अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधानले पनि महासंघको ५४ वर्षे इतिहासमा प्रधान एक्लैले २८ वर्ष बिताएको र महासंघमा भएका सबै समस्या सहजै हल गर्न सक्ने आफूमा क्षमता भएको भन्दै मतदाताले आफूलाई नै निर्वाचित गर्ने उनको दाबी छ ।

प्रधानको पक्षमा प्रेसिडेन्ट इन् वेटिङ गोल्छा किन ?

महासंघको स्वतः अध्यक्ष हुन पाउने पहिलो भाग्यमानी हुन् शेखर गोल्छा । उनी अहिले स्वतन्त्र बस्नुपर्ने र महासंघको निर्वाचन प्रणालीलाई विधानगत तरिकाले सञ्चालन गर्नुपर्ने दायित्वमा छन् । तर, गोल्छा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभन्दा अगाडिदेखि नै किशोर प्रधानका पक्षमा खुलेरै उत्रिएका छन् । यसले महासंघमा केही दशकदेखि झांगिएको गुटबन्दीको राजनीति झनै गहिरिएर जाने भन्दै पूर्वअध्यक्षहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रधानको टिमको मनोनयन दर्ता गर्न जानुअघि राजधानीको भिवान्ता होटेलमा भएको कार्यक्रममा गोल्छाले प्रधान समूहलाई जिताउन अपिल गरेका थिए । कार्यक्रममा उनले भनेका थिए, ‘महासंघमा राजनीतिको क्यान्सर फैलिएको छ, अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ ।’

महासंघलाई नयाँ भिजनका साथ नयाँ बाटोमा दौडाउने भन्दै एक पक्षलाई च्यापेर गोल्छा अगाडि बढेपछि यसले महासंघभित्रको एकता कमजोर पार्ने एक पूर्वअध्यक्षको ठहर छ । ‘मेरो विचारमा प्रेसिडेन्ट इन वेटिङमा रहेको व्यक्तिले एक पक्षलाई काँध थाप्नु हुँदैनथ्यो, यस्तै गलत गुटबन्दीले हिजो समानान्तर संस्था खुलेको हामीले भुल्नु हुँदैन,’ नाम उल्लेख गर्न नचाहने ती पूर्वअध्यक्ष भन्छन्, ‘यद्यपि हामी यतिबेला दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छौँ, सकभर निर्वाचन नै नभए राम्रो हुन्छ भन्ने हाम्रो मान्यता हो ।’

यो पनि पढ्नुहोस्

महासंघको चुनावमा विरासतदेखिकै खटपट, गोल्छा स्वतन्त्र नबस्दा इतिहास दोहोरिने डर

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूको पृष्ठभूमि

चन्द्र ढकाल

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर सुरु गरेका ढकाल जागिर खाँदाखाँदै व्यवसायमा लागे । २०५० सालमा वाणिज्य बैंकको सहायक स्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।

नम्र स्वाभावका ढकाल कहिल्यै विवादित बनेनन् । सबैसँग असल सम्बन्ध स्थापित गर्न उनी सिपालु छन् । व्यावसायिक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए । यस्तै विशेषताले उनी महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

जागिर छोडेर व्यवसायमा लागेको २३ वर्षमा १० वर्ष त महासंघमै बिताए । दुई कार्यकाल महासंघको कार्यसमिति सदस्यका रुपमा रहे । पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर एसोसिएटतर्फको उपाध्यक्षमा चुनाव लड्ने भन्दै प्रचारमा लागे । उनले चाहेकै पद उनको भागमा पर्‍यो, कसैले दाबी गरेन ।

उनलाई व्यवसायमा सन् २००२ मा स्थापित इन्टरनेसनल मनी ट्रान्सफर (आईएमई) ले नै स्थापित गरायो । अहिले सवारीसाधन, जलविद्युत, ट्राभल एन्ड टुर्स, बिमा, बैंक, पर्यटन, सूचना प्रविधिलगायतमा उनको लगानी छ ।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल ५५ वर्षमा प्रवेश गर्दै गर्दा देशका प्रतिष्ठित उद्यमीमा दर्ज भइसकेका छन् । ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको छ । रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आईएमईले लगातार तीन पटक ठूला करदाताको रुपमा सम्मान पाएको छ । प्रबल जनसेवाश्री (चौथो) बाट सम्मानित उनी सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूत, लगानी बोर्डका आमन्त्रित सदस्य, उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष र रोजगारदाता परिषदका सभापति छन् ।

किशोर प्रधान

उद्योग वाणिज्य महासंघको ५४ वर्षे इतिहासमा २८ वर्ष बिताएका प्रधानको पृष्ठभूमि पनि लामै छ । उनी ‘नेपाल जेसिस’को राष्ट्रिय अध्यक्ष भएपछि उद्योग वाणिज्य महासंघ प्रवेश गरेका हुन् । विराटनगरबाट व्यवस्थापन विषयमा १२ कक्षासम्म अध्ययन गरेका प्रधान मोरङ क्याम्पसमा अध्ययनकै बेला विद्यार्थी राजनीतिमा होमिए, साथै व्यवसायमा पनि ।

त्यसपछि काठमाडौंमा आए । काठमाडौंमा होटल अन्नपूर्णमा दुई वर्ष काम गरे । काम सिकेपछि काठमाडौँको रत्नपार्कमा रेस्टुराँ खोले । रेस्टुराँ नचलेपछि त्यो पेसा नै छाडे । २०४८ सालबाट प्रधानले उदयपुर सिमेन्ट उद्योगको डिलर हुँदै उद्यमीको रूपमा काम सुरू गरे । त्यसलगत्तै विराटनगरमा गार्मेन्ट उद्योग खोले । बैंकमार्फत कर्जा लिएर उद्यम गर्दै आएका उनले त्यतिबेला १७ सयलाई रोजगारी दिएका थिए । पुनः सिरहाको लहानमा पाइप उद्योग खोले । पछि बिजुलीको पोल उद्योग पनि सञ्चालनमा ल्याए । अहिले उनको लगानीमा पाँचवटा उद्योग सञ्चालनमा छन् ।

महासंघमा उनी सन् २०१३ देखि २०१५ सम्म र २०१८ देखि हालसम्म दुई कार्यकाल उनी जिल्ला नगर उपाध्यक्षसमेत बने । २०५० चैतदेखि हालसम्म महासंघमा रहेका प्रधान सात कार्यकाल केन्द्रीय सदस्यका रुपमा रहे । महासंघको तालिम तथा विकास समिति, सदस्यता सुदृढीकरण समिति, उद्योग समिति, स्थानीय विकास समितिको सभापति भइसकेका उनी पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको सभापति पनि भएका थिए । नेपाल-बंगलादेश उद्योग वाणिज्य संघको पूर्वकार्यकारिणी सदस्य रहेका प्रधान नेपाल-चीन उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित समय १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु